यलु जोशी
काडमाडौँ, साउन १ गते । साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको सङ्ख्या भने बढ्दैछ । कोरोना सङ्क्रमण (कोभिड १९) को महामारीको चहलपहल अलि कम भएपनि सडकमा मेहन्दी लगाउन बसेको व्यापारीसँग मेहन्दी लगाउन युवतीहरूको लाइन नै थियो ।
कोही भने घरघरमा नै मेहन्दी लगाएर सामाजिक सञ्जालमा फोटो राख्न भ्याए भने कोही सडकमा मेहन्दी लगाउन र हरियो चुरा किन्न व्यस्त थिए । यो संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ ।
खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
साउन लाग्नेबित्तिकै रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरूको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ ।
न्युरोडमा मेहन्दी लगाउँदै गर्नुभएको समिता बास्तोला भन्नुहुन्छ, ‘हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ । यो सुन्दरता कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो’
'आफूले कोभिड १९ सँग सुरक्षाको हिसाबले हरियो चुरा मेहन्दीमा सजिएको हो । यो सबै मैले मेरो श्रीमानकाे लागि गरेको हो', उहाँ थप्नुहुन्छ, 'अहिले मेरो श्रीमान् विदेशमा हुनुहुन्छ तर उहाँको लामो आयु र सुस्वास्थ्यको कामना गदै व्रत पनि बसेको छु ।'
बास्तोलाले अहिले युवतीमा यस्ता फेसनको रुपमा विकास भएको बताउनुहुन्छ । यसलाई सस्कृतिको रुपमा लग्न सकेको खण्डमा राम्रो हुने पनि उहाँको भनाइ छ ।
यस्तै, इन्द्रचोकमा हरियो चुरा खरिद गर्दे गर्नुभएको सजना श्रेष्ठलाई पनि साउनको फेसनले छोएको रहेछ । उहाँले भन्नुभयो, 'आफूले स्वास्थ्य सुरक्षामा ध्यान दिए कुनै पनि रोगले छुँदैन ।'
श्रेष्ठले थप्नुभयो, 'सबै महिला दिदीबहिनीको हातमा चुरा र मेहेन्दीले सजिएको छ । आफ्नो हातमा नहुँदा खल्लो हुने रहेछ ।'
हरेक वर्ष आफ्नो साथीहरू तथा आफन्तलाई चुरा दिनुहुने श्रेष्ठले साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका बताउँदै प्रेमीको लागि चुरा र मेहन्दी लगाएको बताउनुभयो ।
इन्द्रचोकको चुरा व्यापारी अन्जु रञ्जित भन्नुहुन्छ, 'कोरोनाको कारण व्यापारमा पुरै नौक्सानीमा छ । साउनको अघि देखि नै भ्याइनभ्याई हुने तर अहिले खाली बस्नुपरेको छ ।'
आज १ गते भएकोले होला अलि मात्रामा भएपनि चहलपहल छ नभए पहिलेको आधा पनि व्यापार नभएको उहाँको गुनासो छ । महिलाहरूमा चुरा लगाउने संस्कृतिले यो महिना व्यापार हुने विश्वास रञ्जितको छ ।
यता न्युरोडमा मेहन्दी लगाउने व्यापारी खग्रेन्द्र यादवले पहिले जस्तो हातमा मेहन्दी लगाउन आउनेहरू नभएको जानकारी दिँदै भन्नुभयो, 'एक दुई जना आउनुभएको छ ।
कोरोनाको महामारीले बन्दाबन्दी नै हुन्छ जस्तो लागेको थियो तर साउन महिनामा भएपनि मेहन्दी व्यापार भएकाे छ ।'
साउने संस्कृति
पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शङ्कर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । ‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद गणेशराम लाक्षीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरूको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’
किन लगाइन्छ त साउनमा हरियो चुरा र मेहन्दी
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो । चुरा पोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।