logo
२०८१ मंसिर १३ बिहीवार



पाँच प्रहरीमा काेरोना सङ्क्रमण, गैँडाकोट नगरपालिका सील

फिचर |
पढ्नै पर्ने |


पाँच प्रहरीमा काेरोना सङ्क्रमण, गैँडाकोट नगरपालिका सील


होमराज रानाभाट

कावासोती (नवलपरासी), साउन २ गते । पूर्वी नवलपरासीमा पहिलो पटक गैँडाकोट नगरपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि एक हप्ताका लागि गैँडाकोट नगरपालिका सील गरिएको छ ।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत पाँच सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि त्यहाँ कार्यरत सबै प्रहरीहरूलाई जिल्ला प्रहरीमा स्थानान्तरण गरी जिल्ला प्रहरीले नयाँ टोली पठाएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

प्रहरीमा कोरोना सङ्क्रमण भएपछि ईलाका प्रहरी कार्यालयबाट दिईने नियमित सेवा सबै बन्द गरिएको छ भने गैँडाकोट नगरपालिकाको वडा नं २ र ४ मा समेत कोरोनाका बिरामी फेला परेपछि नगरपालिकाले आजदेखि साउन ८ गतेसम्म नगरलाई पूर्ण सील गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । गैँडाकोट नगरपालिकालाई सील गरिएपछि पूर्व-पश्चिम राजमार्गमा गुड्ने सवारी साधनमा कमी आएको छ भने नगरलाई कडा रुपमा सील गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

पूर्वी नवलपरासीमा पहिलो पटक समुदायमा कोरोना पुष्टि भएको हो । ईलाका प्रहरी कार्यालय गैँडाकोटका पाँच सुरक्षाकर्मी सहित १८ जनामा कोरोना पोजिटिभ देखिएपछि उनीहरूसँग नजिक रहेकाहरूको समेत खोजी भइरहेको र यो घटनाले स्थानीय स्पमा त्रास सिर्जना गरेको स्थानीय गैँडाकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । पाँच सुरक्षाकर्मी ईलाका प्रहरी कार्यालयमा कार्यरत रहेका थिए । आठ जना स्थानीय वडा नं २ का बासिन्दा हुन् भने पाँच जना क्वारेन्टाइनमा रहेका प्रमुख पौडेलले बताउनुभयो ।

पूर्वी नवलपरासीमा पहिलोपटक समुदायमा कोराना फैलिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको जनाइएको छ । पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमणका बिरामी गण्डकी प्रदेशमै सबैभन्दा बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?