logo
२०८१ मंसिर १० सोमवार



फुर्सदिलो भइन् पिङ्की: जोगाउन महासङ्कट

फिचर |
पढ्नै पर्ने |
पर्यटन |


फुर्सदिलो भइन् पिङ्की: जोगाउन महासङ्कट
सांकेतिक तस्विर


भरतपुर, साउन २ गते । हात्ती सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी– पिङ्की कली । सन् २०१४ कोे उपाधि चुमेकी उनी वर्षौंदेखि सौराहाको हात्ती सफारीकी सारथी पनि हुन् । तर साढे तीन महिना भयो– पिङ्कीले हात्तीसार छोड्न पाएकी छैनन् ।

कोभिड– १९ को महामारीले मानिस घरबाहिर निस्कन नसक्दा जङ्गल घुमाउने पिङ्कीको दैनिकी यतिखेर हात्तीसारको चौघेरामा कैद हुनपुगेको छ । हौदा (आसन)मा देशीविदेशीलाई राखेर जङ्गल घुमाउने उनी बाहिर निस्कन पाएकी छैनन् । सौराहाका जङ्गल सफारीका सहयात्री हात्ती पहिलो पटक यसरी फुर्सदिला बनेका छन् ।

मानिस घरभित्रै रहे पनि जीवजन्तु र पशुपक्षीले भने शान्त र खुलेको प्रकृतिमा रमाउन पाएका छन् । तर सौराहामा रहेका हात्तीलाई भने मानिस जस्तै लकडाउनमा बस्नुपरेको छ । हात्ती फुर्सदमा रहेका बेला हात्ती धनी भने तनावमा छन् । पर्यटक नआउँदा सबै आम्दानी गुमेको हात्तीपालक व्यवसायी विनोद तिमिल्सिना बताउनुहुन्छ । उहाँले हात्ती पाल्नका लागि पहिलोपटक महासंकट झेल्न परेको गुनासो गर्नुभयो ।

सौराहामा ७० वटा हात्ती छन् । हात्तीले एकपटकमा चार जनासम्मलाई बोकेर बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनभित्र सफारी गराउँथे । डेढ घण्टासम्म लाग्ने ४०० हेक्टर जङ्गल क्षेत्रमा उनीहरुले दिनमा चारपटकसम्म पर्यटक बोक्नुपथ्र्यो । कहिले काही त उनीहरुलाई भ्याइ नभ्याए हुन्थ्यो । तर गत चैत ११ देखि सुनसान सौराहाका यी हात्ती पनि लकडाउनमै छन् । चितवनको पर्यटन व्यवसाय धानेका हात्ती अहिले खानै नपाउने अवस्थमा पुगेको उहाँले बताउनुभयो । “कोरोनाको यस महामारीमा सबैलाई सङ्कट परेको छ । हात्तीलाई चर्ने ठाउँ नै भएन । त्यसैले हामीले चितवन निकुञ्जसँग चर्ने ठाउँको प्रबन्ध होस् भन्ने माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

निकुञ्जले सौराहा नजिक राप्ती नदी पारीे हात्ती चर्न स्वीकृति दिएको थियो । लकडाउन शुरु भएपछि गत चैत १५ देखि त्यहाँ हात्ती चरेका थिए । तर गतजेठ १८ पछि चराउन नदिएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले गुनासो गर्नुभयो ।

हात्ती सवारी सौराहाको मुख्य चिनारी मात्रै होइन, आन्दानीको मुख्य स्रोत पनि हो । निजी क्षेत्रबाट पालिएका ती हात्तीले पर्यटनको मुख्य समय (सिनजन)मा दैनिक ६०० पर्यटकलाई जङ्गल डुलाउथे । अहिले, महामारीले सबै ठप्प मात्रै छैन, सफारीकै व्यवसाय गर्दै आएकालाई हात्ती कसरी जोगाउने भन्ने पिरलो परेको छ ।

घरपालुवा हात्ती निकुञ्जभित्र छिर्न नपाउने नीति रहेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन नारायण रुपाखेतीले बताउनुभयो । तर सङ्कटको अवस्थामा आफूले केही सहयोग गरेको तर नीतिकै उल्लङ्घन हुने गरेर सधैँलाई हात्ती चराउन दिने पक्षमा आफू नरहेको उहाँले जानकारी दिनुभयो । “मैले अलि समय व्यावहारिकता हेर्ने कुरा हुन्छ । चराउन पाउने नीति बन्छ भने मैले रोक्ने कुरा भएन । यसका लागि विभाग वा मन्त्रालयले नीति बनाएर दिन प¥यो”, उहाँले भन्नुभयो । हात्ती सफारी र जीप सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटक सौराहा आउने गरेका छन् । एउटा हात्ती पाल्नका लागि मासिक करिब रु एक लाखसम्म खर्च हुने व्यवसायीको भनाइ छ ।

हात्तीका लागि दिनमा दुई क्विन्टल घाँस पराल, २०० लिटर पानी, २० केजी धान, एक किलो चना र एक पाउ नून आवश्यकता हुन्छ । माहुते र सुसारे तथा खानपानमा हात्तीका लागि महिनामा ७० हजारदेखि रु एक लाखसम्म खर्च हुने व्यवसायी बताउँछन् । यहाँको हात्ती सफारीबाट करिब २०० ले रोजगारी पाएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले हात्तीको राजधानी भनिने चितवनका हात्ती महासङ्कटमा पुगेको बताउनुभयो ।

“सङ्घकोतर्फबाट चरिचरनको व्यवस्था मिलाउन अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “हात्ती संरक्षण गर्नु सरकारको पनि दायित्व हो ।” उहाँले खानपानमा कमी हुँदा हात्तीको स्वास्थ्यमा समेत समस्या हुने चिन्ता थपिएको बताउनुभयो ।

हात्ती सफारीमा निजी हात्ती मात्रै प्रयोग हुने गरेका छन् । निकुञ्जभित्र निजी हात्ती जान नपाउने नियमका कारण मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुने गरेको छ । हात्ती सफारीबाट मध्यवर्ती वनले वर्षमा डेढ करोड रुपैयाँसम्म आम्दानी गर्दछन् ।

निकुञ्ज स्थापना हुँदादेखि नै सौराहामा हात्ती सफारी शुरु भएको हो । यहाँको पर्यटनको मुख्य आधार हात्ती सफारीकै भरमा होटेलसहित अन्य पर्यटकीय गतिविधि हुन्छन् । सौराहामा वर्षमा दुई लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । तीमध्ये ९० प्रतिशत पर्यटक हात्ती चढेर जङ्गल घुम्न जान्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?