logo
२०८१ मंसिर १३ बिहीवार



छजना अनाथ दिदीबहिनीलाई एक लाख सहयोग

फिचर |
समाज |


छजना अनाथ दिदीबहिनीलाई एक लाख सहयोग
अनाथ बालबालिकालाई सहयोग वितरण कार्यक्रमको दृश्य । तस्बिरः गोकर्ण दयाल



गोकर्ण दयाल
बैतडी, साउन ३ गते । दरशथ चन्द नगरपालिका– १०, सतपालि गाउँका एकै घरका छ जना अनाथ दिदीबहिनीको एक लाख रुपियाँ आर्थिक सहयोग जुटेको छ ।
साउन १ गते गोरखापत्रमा प्रकाशित “भोक लागे नगरपालिकामा फोन !” समाचार पढेर मुस्ताङ जिल्ला घर भई हाल काठमाडौँ बस्दै आउनुभएका मनकारी दीपकमान शेरचनले एक लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।
गोरखापत्रको समाचार पढेर मनकारी दीपकमान शेरचनबाट प्राप्त रकमबाट ३० हजारको दाल चामल, नुन तेल, साबुन, मञ्जन, ब्रूस, लगाउने लुगा कपडा, जुत्ता, वर्षामा ओढ्ने छाता र नगद ७० हजार रुपियाँ बालबालिकालाई हस्तान्तरण गरिएको छ ।
अनाथ बालबालिकालाई प्राप्त भएको रकम बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाउँमै पुगेर नगद रुपियाँ, खाद्यान्न र लुगा कपडा हस्तान्तरण गर्नुभएको हो ।
अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण गर्नुहुँदै बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गोरखापत्र र मनकारी दीपकमान शेरचनलाई धन्यवाद दिनुभयो । कार्यक्रमा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी जोशीले आफ्नो दुई दशक लामो जागिरे जीवनमा यस्तो पवित्र कार्यक्रमा कमै उपस्थित हुन पाएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “राष्ट्र र पत्रकारिता क्षेत्रको धरोहरका रुपमा रहेको गोरखापत्रको समाचार प्रभाव कस्तो हुन्छ भन्ने कुरा अनाथ बालबालिकालाई जुटेको सहयोगले पुष्टि गरेको छ ।”
राहत रकम पाउँदा बालबालिकाले गोरखापत्रले गाँस जुटाइदिएको बताएका छन् । भोक लाग्दा नगरपालिकामा फोन गर्दैआएका बालबालिकाले छ महिनाभन्दा बढी समयका लागि खान पुग्ने खाद्यान्न, लगाउने कपडा र ७० हजार रुपियाँ नगद पाउँदा खुशी लागेको बताएका छन् ।
उपचार नपाएर बुबाको मृत्यु भएपछि औषधि किन्न भारत गएकी आमा नफर्किँदा बैतडीको दशरथचन्द नगरपालिका–१०, सतपाली गाउँका निलम लावड ( १४वर्ष) ईन्द्रा लावड (१२ वर्ष), पार्वती लावड (११ वर्ष), लीला लावड (नौ वर्ष), बिन्दु लावड (छ वर्ष) र माया लावड (चार वर्ष) सहाराविहीन बन्नुभएको छ ।

‘राष्ट्र र नागरिकको मुखपत्र हो गोरखापत्र ’
अनाथ बालबालिकालाई सहयोग वितरण कार्यक्रममा टेलिफोनमार्फत सम्बोधन गर्नुहुँदै गोरखापत्रका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले गोरखापत्र आम नागरिक र राष्ट्रको मुखपत्र भएकोले सामाजिक उत्तरदायित्त्वसहितको पत्रकारिताको अभ्यास सुरु भएको बताउनुभयो ।
श्रीओम श्रेष्ठ ‘रोदन’ले बैतडीको एउटा गाउँका बालबालिकालाई भोक लागेको विषय गोरखापत्रले प्राथमिकताका साथ छापेपछि मुस्ताङका मान्छेको मन छोयो । कति रकम सहयोग जुट्यो भन्ने कुरा अङ्कमा गन्ने विषय होइन । समाचारको विश्वसनीयता ठूलो कुरा हो, भन्नुभयो ।

अनाथ बालकालिको घरमा बत्ती जडान हुँदै
दरशथ चन्द नगरपालिका– १०, सतपालि गाउँको खोला किनार नजिक बस्दैआएका अनाथ बालबालिकाको घरमा बिजुली जडान गर्न पहल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
दशरथचन्द नगरपालिका–१०, को वडा कार्यालयमा बालबालिकालाई खाद्यान्न, लुगाकपडा र नगद रुपियाँ हस्तान्तरण कार्यक्रमपछि दुईघण्टा हिँडेर बालबालिको घरमै पुग्नु भएका प्रमुख जिल्ला अधिकारीले गाउँमा बिजुली भए पनि बालबालिकाको घर अँध्यारो भएको गुनासो सुनेपछि तुरुन्तै बत्ती जडान हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?