logo
२०८२ भाद्र १२ बिहीवार



नेताहरू ! तपाईंहरूसामु नैतिक प्रश्न खडा भएको छः ज्ञवाली

फिचर |
राष्ट्रिय |


नेताहरू ! तपाईंहरूसामु नैतिक प्रश्न खडा भएको छः ज्ञवाली


लक्की चाैधरी

काठमाडौँ, साउन ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रमुख नेताहरूलाई सहमतिमा आउन आग्रह गर्नुभएको छ । नेताहरूको अगुवाईमै आजको उपलब्धी प्राप्त भएकाले त्यसलाई बचाउनुपर्ने उहाँको आग्रह छ।

पार्टीको सचिवालय बैठकअघि उहाँले नेताहरूलाई सामाजिक सञ्जालमा सामूहिक आग्रह गर्दै भन्नुभएको छ, “असमझदारीहरूको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरूको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न बाध्य हुनुपर्नेछ ।”

अग्रज नेताहरूको योगदान स्वार्थपूर्तिका लागि नरहेको स्पष्ट पार्दै नेता ज्ञवालीले भन्नुभएको छ, “तपाईंहरूका सामु एउटा नैतिक प्रश्न खडा भएको छ, कतै हिजोको तपाईंहरूको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ?” निर्णयमा पुग्नुअघि एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्यलाई आकलन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

धुरी खाँबो भाँचियो भने घरै भत्किन्छ चर्चा गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले थप्नुभएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरूको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको सङ्घीयताकै भविष्य पनि जोडिएको छ ।”

करिब ३१ महिना अगाडि जनतासमक्ष गरेको चुनावी प्रतिबद्धतालाई पुनः स्मरण गर्न आग्रह गर्दै नेता ज्ञवालीले भन्नुभएको छ, “हामीले भनेका थियौँ– हामीलाई मत दिनुहोस्, हामी राजनीतिक स्थायित्व र समृद्धि दिन्छौँ ।” ‘सुखी नेपाली र समृद्ध नेपाल’ को आह्वानमा भर परेर, विश्वास गरेर, जनताले नेकपालाई दुई तिहाई बहुमतको मत दिएको उहाँले स्मरण गराउनुभएको छ ।

समाजवादको यात्रा भर्खर सुरु भएकाले अझै पार्टीमा कुनै विचलन आउन नहुने भन्दै उहाँले थप्नुभएको छ, “समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ । नेताहरू भन्नुस् त– यी सबै कामहरू अधुरै छाडेर, विवादमा अल्झिन हामीलाई छुट छ र ?” कुनै पनि निर्णय गर्नुपूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरूलाई हेर्न उहाँले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?