logo
२०८१ बैशाख २६ बुधवार



काँढा नदीको बाढी गाउँ पस्यो, १५० घर डुबानमा

फिचर |
प्रदेश |


काँढा नदीको बाढी गाउँ पस्यो, १५० घर डुबानमा


अविनाश चौधरी
धनगढी, साउन ३ गते । कैलालीको भजनी नगरपालिकामा १५० घर डुबानमा परेको छ । शनिबार बिहान भएको वर्षाका कारण नदीमा आएको बाढीले डुबान भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार काँढा नदीमा आएको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिका–२ को मोहनपुर, वडा नम्बर ३ को काँढा र ढुसी गाउँका गरी करिब डेढ सय घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

‘गाउँमा बाढी पसे पनि ठूलो क्षति भने भएको छैन’, उहाँले भन्नुभयो, ‘मान्छेहरू पानी पसेको घरमै बसेका छन् ।’ धेरै ठूलो बाढी नरहेका कारण प्रभावितलाई अन्यत्र सार्नुपर्ने अवस्था नरहेको विष्टले बताउनुभयो ।

दुई हप्ताअघि मात्रै सो ठाउँ डुबान परेको थियो । माथि चुरे क्षेत्रमा वर्षा भएपछि पुनः डुबान समस्या निम्तिएको मोहनपुर गाउँका स्थानीय गङ्गाराम चौधरीले बताउनुभयो । उहाँका अनुसार काँढा नदीमा आएको बाढी ‘ओभरफ्लो’ भएर गाउँमा डुबान भएको हो ।

यसैगरी, लम्कीचुहा नगरपालिकामा पनि डुबान भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘तर, त्यहाँको विस्तृत विवरण आएको छैन’, प्रहरी नायब उपरीक्षक विष्टले भन्नुभयो ।

भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्र बाढी विपद्को जोखिममा छ । यी स्थानीय तहमा प्रायः हरेक वर्ष डुबान हुने गरेको छ ।
अति विपद् जोखिम स्थानीय तहको रुपमा रहेको भजनी नगरपालिकामा बाढी समस्याका कारण किसानले बर्खे धानको खेती गर्दैनन् । जीविकोपार्जनका लागि उनीहरु चैते धान खेतीमामात्रै निर्भर छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?