लोकेन्द्रप्रसाद जोशी
दार्चुला, साउन ५ गते । दार्चुलाको नौगाड गाउँपालिका—६, परिगाउँमा पहिरो जाँदा स्थानीय दुई जना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षति भएको छ । बेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीय सन्तोषसिंह ठगुन्नाले जानकारी दिनुभयो । पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ । पाँच परिवारको घर पहिरोको उच्च जोखिममा रहेको ठगुन्नाले बताउनुभयो ।
परिगाउँमा मात्रै नभई नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षति गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । दार्चुलाको नौगाड गाउँपालिकामा बर्सेनि बाढी र पहिरोका कारण धनजनको क्षति हुनुका साथै प्राकृतिक विपद् निम्तिने गरेको छ ।
अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीसमेत खटिएको अध्यक्ष धामीले बताउनुभयो ।