logo
२०८१ मंसिर १३ बिहीवार



बाढीले पक्की पुल बगायो, स्थानीयको आवतजावत बन्द

फिचर |


बाढीले पक्की पुल बगायो, स्थानीयको आवतजावत बन्द


शेरबहादुर सार्की

बाजुरा, साउन ६ गते । बाजुरामा गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले बुढीगङ्गा नगरपालिका –२ को घट्टे खोलामा रहेको पक्की पुल बगाएको छ । साँफे-मार्तडी सडकअन्तरगत पर्ने ताप्रिसेरास्थित घट्टेको खोलामा रहेको २५ मिटर लामो पक्की पुल बगाएपछि स्थानीयकाे आवतजावत नै बन्द भएको छ । बाढीले पक्की पुल बगाएपछि स्थानीय घरमा जानसमेत निकै समस्या भएको बुढीगाङ्गा नगरपालिका वडा नं –२ का वडा अध्यक्ष हिरा थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'यो पुल वारिपारिमा रहेका झण्डै १२ घरपरिवारले खोलामा पानी खाने र नुहाउने गर्दथे । हिजो राति आएको बाढीले पुल नै बगाएपछि खानेपानीको समेत निकै समस्या भएको छ ।' 
'यो पुल बगाएपछि बल्दे, नडाग, अम्कोट डुग्री, खेतकोट लगायतका स्थानीयलाई पनि आवतजावतमा निकै समस्या परेको छ' थापाले भन्नुभयो, 'पुल बगाएपछि यातायातका सवारी साधन त के मानिसलाई पनि खोला तरेर घरमा जान निकै समस्या परेको छ ।'

उहाँले भन्नुभयो, 'यसभन्दा पहिला पनि यो खोलामा पुल नहुँदा एक जनाले खोला तर्ने बेला ज्यान गुमाएका थिए ।' गएराति परेको भारी वर्षाका कारण आएको बाढीले घट्टेखोलाको २५ मिटर पक्की पुल बगाउनुका साथै त्यस वारपारको रहेको झण्डै एक सय रोपनीमा लगाएको धान खेती पनि बिग्रिएकाे जिल्ला प्रहरी कार्यालय, बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?