दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ६ गते । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुबानले मध्य तराईको बारा, पर्सा रौतहटलगायत जिल्लाको जनजीवन पनि प्रभावित भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका पनि जलमग्न भएको छ ।
पर्साको जिल्ला प्रशासन कार्यालयमा समेत करिब तीन फिट पानी जमेको छ । वीरगञ्ज महानगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय, वीरगञ्जलगायत आदर्शनगर क्षेत्रका करिब एक दर्जनभन्दा बढी बैङ्कहरू डुबानमा परेका छन् । वर्षाको पानी नाला भएर बग्न नसकी बढी भएर सर्वसाधरणको घर तथा पसलमा पसेको देखिन्छ ।
वीरगञ्ज महानगरपालिकाको कार्यालय डुबानमा परेको छ भने नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय वीरगञ्जलगायत आदर्शनगर क्षेत्रका दुई दर्जनभन्दा बढी बैङ्कहरू डुबानमा परेका छन् । अविरल वर्षाका कारण वीरगञ्जकै आदर्श नगर श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, पानीट्याङ्की, भिस्वा, प्रगतिनगरलगायत स्थानमा पानी जमेको हो । समथर जमिन र वर्षाको पानीको उपयुक्त निकासको प्रबन्ध नहुँदा वीरगञ्ज बर्सेनि डुबानमा पर्ने गरेको छ ।
बर्सेनि डुबान पर्यो भने जानकारी गराउँदा पनि वीरगञ्ज महानगरपालिकाले समस्या समाधानका लागि कुनै चासो नलिएको स्थानीयको गुनासो छ । घरमा पानी पस्ने गरेको जिल्ला प्रशासन कार्यालय नजिकै घर भएका किसन साह बताउनुहुन्छ । तीन अर्बभन्दा बढी लागतमा वीरगञ्ज महानगरपालिकाले ढल तथा अन्डरग्राउन्ड नाला निर्माण गरेकोमा केही स्थानमा सफल भए पनि प्रभावकारी हुन सकेको छैन । वीरगञ्जको आदर्शनगर क्षेत्रमा झण्डै तीन फिटभन्दा बढी पानी जम्दा दर्जनौँ पसलमा राखिएका सामानहरू डुबानमा परेका छन् । साथै लाखौँ रुपियाँको क्षति भएको व्यवसायीले बताएका छन् ।
यसै गरी, पर्साको सिघांई नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २६ लालपर्सामा भेडियाही नदीको बाढी पस्दा दर्जनौँ घर डुबानमा परेको र गाउँ नै जलमग्न आएको स्थानीय बासिन्दाले बताएका छन् । अविरल वर्षाले वीरगञ्जमा डुबान तथा जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको जानकारी आएको हुँदा जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी उच्च सतर्कतामा राखेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिनुभयाे
त्यस्तै, पर्साको ठोरी, उदयपुर घुर्मीलगायत स्थानमा समेत बाढीले क्षति पुर्याएको छ भने पर्साकै गङ्गोल नदीमा आएको बाढीले पर्साको जगन्नाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीको अधिकांश क्षेत्र डुबानमा परेको छ ।
उता, भलुवाई खोलामा आएको बाढीले पर्साको पटेर्वा सुगौगी गाउँपालिका वडा नम्बर ५ निचुटाको मोर टोललाई चारैतर्फबाट घेरेपछि ११५ घरपरिवार बाढीको बीचमा परेको र उद्धारको काम जारी रहेको स्थानीय राजकुमार साहलार्ई उदृत गर्दै स्थानीय प्रशासनले जानकारी दियो । त्यस्तै, सिक्टा नदीमा आएको बाढी गाउँमा पस्दा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुर्ली रविदास टोलका दर्जनौँ घरहरू प्रभावित भएको गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले बताउनुभयो ।
त्यसै गरी, पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ का एक दर्जनभन्दा बढी घर डुबानमा परेको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले बताउनुभयो ।