बेलिना थापा
लमजुङ, साउन ७ गते । अबिरल वर्षापछिको पहिरोले मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीका १८ घर पुरिएका छन् । पहिरोमा परेर आठ जना घाइते भएका छन् ।
आइतबार, सोमबार र मंगलबार रातभर परेको पानीका कारण गाउँमाथिबाट पहिरो खसेर घर पुरिएको स्थानीयले बताएका छन् । मंगलबार विहान ८ बजेतिर पहिरो खस्दा चार घरमा पहिरो पसेकोमा बुधबार विहान १० बजेतिर गाउँमाथिबाट ठूलो पहिरो खस्दा घर पुरिएको मस्र्याङदी गाउँपालिका ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार विहानको समय भएकाले मानिस बाँच्न सफल भएका छन् । ठूलो आवाज निकाल्दै एक्कासी पहिरो खस्दा स्थानीय त्रसित भएर भागेका थिए । भाग्ने क्रममा ८ जना घाइते भएका छन् । घरमाथि नै आउने गरी पहिरो खसेपछि भाग्ने क्रममा २५ वर्षीया सिर्जना गोतामे, १३ वर्षीया कविता बसेल र ७० वर्षीय देवबहादुर सार्की घाइते भएका छन् । सिर्जनाको दाँया खुट्टा सुन्निएको छ । कविताको खुट्टामा पनि चोट लागेको छ । दुवैजनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
देवबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार अन्य ५ जना सामान्य घाइते भएका छन् । १८ वर्षीय सुजन अछामी, ५५ वर्षीया जमुना अधिकारी, २७ वर्षीया फूलमाया मजाकोटी, ६५ वर्षीया नन्दकुमारी अछामी, २४ वर्षीय मिलन अछामी रहेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ८० घरधुरी रहेको गाउँका १८ घर पुरै पहिरोले पुरेको छ । बाँकी सबै घरमा आंशिक क्षति पुगेको गुरुङले बताउनुभयो । पहिरोको पुरको १८ घर र बाँकी ६२ गरी ८० घर नै स्थानान्तरण गरिएको बताउनुभयो । मंगलबार ४ घरमा पहिरो पसेको र बुधबार थप १४ घरसहित १८ घर पुरेको उहाँले बताउनुभयो । पहिरो गएको जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको र घाइतेको उद्दार गरी अस्पताल पठाएको उहाँले बताउनुभयो ।
घाइतेको उद्दार पछि नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार गाउँमा पुनः पहिरो जान सक्ने र घर बगाउने सम्भावना रहेकाले उनीहरुलाई तरापुको धनेश्वर आधारभूत विद्यालय, सामुदायिक भवन, आफन्त, इष्टमित्रको घरमा राखिएको छ । उनीहरुलाई स्थानान्तरण गरी राहतको व्यवस्थापन गरिएको विकले बताउनुभयो ।
मंगलबार विहान पहिरो खसेपछि पल्लोटारीका केही स्थानीय छिमेकी गाउँ, आफन्त, विद्यालय र सामुदायिक विद्यालयमा विस्थापित भएका थिए । पहिरोको उच्च जोखिममा रहेका २१ घरका स्थानीय मंगलबार नै विस्थापित भएका कारण उनीहरु बाँच्न सफल भएका हुन् ।