नवराज कट्टेल
विराटनगर, साउन ७ गते । प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पोजिटिभ पुष्टि भएको छ । बुधबार एकजनामा सङ्क्रमण पुष्टि भएसँगै, सङ्क्रमित हुने व्यक्तिको सम्पर्कमा भएका २२ जनाको स्वाब सङ्कलन गरिएकामध्ये चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित सबै प्रहरी नै हुन् । सम्पर्क पहिचानका आधारमा प्रहरी सङ्गठनका सदस्यसहित परिवारका सदस्यहरूको स्वाब सङ्कलन गरिएको थियो । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार बिहीबार चार जनामा सङ्क्रमण पुष्टि भएको ल्याबले विवरण पठाएको छ ।
प्रदेश १ प्रहरी कार्यालयका ११ जनासहित अन्य प्रहरी युनिट तथा परिवारका सदस्यसमेत गरी २२ जनाको स्वाब सङ्कलन गरिएको थियो । ‘बाइस जनाको स्वाब सङ्कलन गरिएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको भर्खरै जानकारी पाएका हौँ’ प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, 'उहाँहरूलाई उपचारका लागि भर्ना प्रक्रिया बढाउँदै छौँ ।'
उपरीक्षक पोखरेलका अनुसार उनीहरूलाई केही दिनअगाडिदेखि रुघाखोकीको समस्या देखिँदैआएको थियो । 'बुधबार सङ्क्रमित हुनुभएका सदस्यलाई होम क्वारेन्टाइनमा राखेका थियौँ,' उपरीक्षक पोखरेलले भन्नुभयो, 'उहाँको सम्पर्कमा रहेका चार जनामा पनि त्यस्तै लक्षण देखिन थालेपछि सुरक्षित गरिएको थियो ।' प्रदेश १ प्रहरी कार्यालय रानीमा बुधबार र बिहीबार पाँच जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको छ ।