नवराज कट्टेल
विराटनगर, साउन ९ गते । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल, गोठगाउँबाट शुक्रबार बिहान १२ जना डिस्चार्ज भएका छन् । उनीहरूको पछिल्लो दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिसअनुसार डिस्चार्ज गरिएको हो ।
पीयू कोभिड–१९ उपचार केन्द्रमा हालसम्म भर्ना भएका ३४८ जनामध्ये शुक्रबारसमेत गर्दा २८२ जना नागरिकले कोरोना सङ्क्रमणलाई पराजित गरिसकेको पूर्वाञ्चल मेडिकल कलेजका डिन डा. शैलेशमणि पोखरेलले जानकारी दिनुभयो ।
शुक्रबार बिहान डिस्चार्ज हुनेहरू १९ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । अस्पतालमा सक्रिय सङ्क्रमितको रुपमा उपचाररत ५९ जना बाँकी छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
शुक्रबार बिहान डिस्चार्ज भई घर फर्कनेहरूमा झापा कनकाई नगरपालिकाका एक जना, इलामको इलाम नगरपालिकाका चार जना र जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटिएका नेपाली सेना एक जनासमेत गरी पाँच जना छन् । यसैगरी, उदयपुरको बेलका नगरपालिकाका तीन जना, सुनसरएको भोक्राहाका एक जना, रामधुनीका एक जना र इटहरीका एक जना रहेको पीयू कोभिड–१९ आइसोलेसन अस्पताल व्यवस्थापनले जानकारी दिइएको छ ।
पीयू कोभिड–१९ आइसोलेसन अस्पतालबाट हालसम्म सात जनालाई धरान र कोशी कोभिड–१९ उपचार केन्द्रमा रिफर गरिएको थियो । उनीहरू कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
प्रदेश १ मा सङ्क्रमित ८४८ र डिस्चार्ज हुने ७३४ जना पुगेका छन् ।