अमृतप्रसाद पौडेल
बेनी, साउन ९ गते । म्याग्दी जिल्लाका विभिन्न क्षेत्र अहिले बाढी पहिरोले क्षतविक्षत भएको छ । लकडाउनकै अवधिमा वैदेशिक रोजगारीबाट फर्केर बेनी बजारमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर जाँदैगर्दा एक युवाको गत सोमबार मृत्यु भयो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना काभ्रेका ३२ वर्षीय झलक पुनले अन्नपुर्ण-२, भुरुङ तातोपानीमा पहिरोमा मरेर ज्यान गुमाउनुभयो ।
चाैध दिनसम्म बेनीमा रहेको क्वारेनटाइनमा बसेर कोरोना भाइरस परीक्षणका लागि पीसीआर टेष्ट गर्दा नेगेटिभ आएपछि घर जाने क्रममा घर नपुग्दै भलकले संसार छाड्नुभयो । गत असार २५ देखि परिरहेको अविरल वर्षाले गर्दा क्षतविक्षत भएको बस्ती अनि सडकहरू पार गर्दैगर्दा भुरुङमै पहिरोमा परेर क्वारेन्टाइनबाट सँगै फर्केका अर्का युवा भने मुस्किलले बाँचे । कोरोनासँगको युद्ध जितेर मनभरि हजारौँ सपना सजाएर जाँदै गरेका दुई युवामध्ये एकले ज्यान गुमाए भने अर्काले मुस्किलले आफूलाइ जोगाउन सके ।
अहिले उत्तरी म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने सडक खण्डमा पहिरोले वितण्डा मच्चाएको छ । बेनी–जोमसोम सडक खण्डको गलेश्वरमा पुल भत्किएको छ भने त्यसमाथि गएपछि राहुपारे, तिप्ल्याङ, बेगखोला, भूरुङतातोपानी, दाना, काभ्रेभिर, घोप्टेभिर एवम् मुस्ताङको घाँसा तथा लेतेमा सडक अवरुद्ध छ । म्याग्दी भेकतर्फ भुरुङ तातोपानीमा कालीगण्डकीले सडक कटान गरेपछि भिरमा खरघाँसमा झुण्डिएर यात्रा गर्न बाध्य छन्, उत्तरी म्याग्दी तथा मुस्ताङका बासिन्दाहरू । काभ्रे र घोप्टेभिरमा बेससहित सडक कालीगण्डकीले कटान गरेको छ ।
‘घाँस समातेर यात्रा गर्नुपर्छ, धेरै ठाउँमा यात्रुले ज्यानकै बाजी राख्नुपर्छ’ अन्नपूर्ण गाउँपालिका–२, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भन्नुभयो । उहाँले नागढुङ्गा, रुप्से झरना, काभ्रेभिरलगायत स्थानमा पैदल मार्गबाटसमेत आवतजावत गर्न नसकिने गरी सडक अवरुद्ध भएको बताउनुभयो ।
निरन्तर खस्ने ढुङ्गाले चोट लाग्ने गरेको बताउँदै गन्तव्यमा पुग्नु ठूलो युद्ध जितेजस्तै भएको बताउनुहुन्छ, मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन । ‘बर्खामा यात्रुले सधैँ ज्यान गुमाउनुपर्छ, ‘जोखिममा पैदल आवतजावत पनि रोक्नुपर्छ’ तुलाचनले भन्नुभयो । उहाँका अनुसार सडक कच्ची र साँघुरो भएकाले कटानबाट समेत छियाछिया भएको अवस्थामा जोखिपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । कलिला बालबालिकालाई काखमा च्यापेर महिलासमेत भिरको बाटो यात्रा गर्नुपर्ने बाध्यता रहेको छ भने बिरामीलाई आवतजावतमा निकै समस्या हुने गरेको छ ।
पैदलयात्रीको ज्यान गएपछि प्रहरीले जोखिमपूर्ण स्थानमा आवतजावतमा कडाइ गर्न थालेको छ। ‘यात्रुलाई गन्तव्यमा पुग्न हतार छ, जोखिमपूर्ण स्थानमा प्रहरीले नै कडाइ नगरे अर्को दुर्घटना हुन्छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरको भनाइ छ । उत्तरी क्षेत्रमा रहेका प्रहरी चौकीलाई जोखिम मानिएका क्षेत्रमा यात्रुलाई प्रवेशमा रोक लगाउनसमेत निर्देशन दिएको डीएसपी कुँवरले बताउनुभयो ।
अघिल्लो हप्ता अन्नपूर्ण–३, दानाको गुईंठेभिरमा सडक भासिँदा निर्माण सामग्री बोकेको टिप्परसँगै चालक २७ वर्षका ज्ञानबहादुर पुनको मृत्यु भएको थियो । चालक भोलिपल्ट करिब तीन किलोमिटर तल नदी किनारमा भेटिए पनि टिप्पर भने अझैसम्म पनि भेटिएको छैन । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भू-बनावटले छिनछिनमा पहिरो जाने समस्याले पैदलयात्री जोगिएर हिँड्न मुस्किल छ ।
छयत्तर किलोमिटरको बेनी–जोमसोम सडकको धेरै स्थानका कालिगण्डकीको कटान तथा पहिरोले गरेको अवरोधका कारण गत असार २५ गतेयता सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचन भन्नुहुन्छ, ‘मर्मत सुरु भएको थियो, बाढीले भयानक क्षति पुर्याउँदा काम राम्रो सँग हुन सकेको छैन ।’ हाल उत्तरी म्याग्दीका किसानले दूध तथा तरकारीसमेत डोरीको सहायताबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ ।