धीरेन्द्रप्रसाद साह
राजविराज, साउन ९ गते । राजविराज नगरपालिकामा एकै परिवारका चारसहित थप सात जनामा कोरोना सङ्क्रमण भेटिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ४१८ पुगेको छ ।
राजविराज नगरपालिका-६, सिरहा रोडस्थित चियानास्ता पसल सञ्चालन गर्दैआएको एकै परिवारका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । चियानास्ता पसलका ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा सङ्क्रमण पाइएको उहाँले बताउनुभयो ।
यसैगरी, राजविराज नगरपालिका वडा नं. ९ की ५५ वर्षीया महिला र राजविराज नगरपालिका-७ का ७० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भेटिएको निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।
गत साउन १ गते राजविराज नगरपालिका वडा नं. ६ का ७३ वर्षीय व्यापारीको कोरोनाका कारण मृत्यु भएको थियो । उहाँकै छिमेकमा रहेको चियानास्ता पसलका एकै परिवारका चार जनामा कोरोना सङ्क्रमण भेटिएको छ भने अन्य तीन जनामा पनि उहाँकै कन्ट्याक्ट ट्रेसिङभित्र परेको बताइएको छ ।