दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ९ गते । मङ्गलबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भई वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत एक ज्येष्ठ नागरिककाे कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।
वीरगञ्जको गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले बताउनुभयो ।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना भई उपचारत ती ज्येष्ठ नागरिकको मङ्गलबार स्बाव सङ्कलन गरिएको र बुधबार अबेर राति कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा राखी उपचार सुरु गरिएको छ । उपचाररत ८५ वर्षीया ज्येष्ठ नागरिकको उपचारको क्रममा शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका डा. सिंहले जानकारी दिनुभयो ।
डा. सिंहका अनुसार उहाँ मुटुका रोगी हुनुहुन्थ्याे । केही दिनअघि निमोनिया भएर उहाँ वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना हुनुभएकाे थियाे । बुधबार राति अबेर कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्थायी अस्पतालमा ल्याइएको थियो ।
सङ्क्रमितको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु र शव व्यवस्थापनबारे नेपाली सेनाका अधिकारीसँग छलफल भइरहेको डा. सिंहले बताउनुभयो ।
वीरगञ्जमै गत मङगलबार पनि कोरोना सङ्क्रमित ७० वर्षीय एक पुरुषकाे आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो भने उक्त अस्पतालमा अहिले पनि चार जना सङ्क्रमितलाई आईसियूमा राखेर उपचार भइरहेको छ । पछिल्लो समयमा देखिएका सङ्क्रमितहरूमा लक्षण देखिन थालेकाले आईसियूमा नै राखेर उपचार गर्नुपर्ने भएको डा. सिंहले भन्यो ।