logo
२०८१ फाल्गुन २७ मंगलवार



भर्नाका लागि पर्खँदापर्खँदै कोशी अस्पताल परिसरमा एक बिरामीको मृत्यु

फिचर |
प्रदेश |


भर्नाका लागि पर्खँदापर्खँदै कोशी अस्पताल परिसरमा एक बिरामीको मृत्यु


नवराज कट्टेल
विराटनगर, साउन ९ गते । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले तत्काल बिरामीलाई भर्ना गराएर उपचार नगर्दा बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ ।
अस्पतालको आकस्मिक कक्षबाहिर ल्याएर एक घण्टासम्म बिरामीलाई पर्खाउँदा उहाँको अस्पताल परिसरमा एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।
उदयपुरको कटारी नगरपालिका–५ बाट एम्बुलेन्समा राखेर शुक्रबार उपचारका लागि विराटनगर ल्याइएका २३ वर्षीय पदमबहादुर राईको ज्यान गएको छ । राईलाई श्वास फेर्न समस्या भएपछि स १ च १२०५ नम्बरको एम्बुलेन्सबाट कोशीमा ल्याइएको थियो ।

बिरामी लिएर दुई जना महिलाहरू आएका थिए । आफूले ल्याएको बिरामीको एम्बुलेन्समै मृत्यु भएपछि उहाँहरू हतास् हुनभएको छ । चालक सुवास तामाङका अनुसार २.४५ बजे अस्पताल परिसरमा आइपुगेको एम्बुलेन्सबाट बिरामी झार्न अस्पताल प्रशासनले अस्वीकार गरेको थियो । त्यसको एक घण्टापछि मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बिरामी ‘क्रिटिकल’ अवस्थामा देखिएकोले धरान पठाउन रेफर गरिएको थियो । तत्काल धरान पठाउन समन्वय गरिरहेको अवस्थामा बिरामीको मृत्यु भएको मेसु दासको दाबी छ । दासले कोशी कोभिड–१९ उपचार केन्द्रका इन्चार्ज डा. दीपक सिग्देलसँग परामर्श गरेपछि धरान पठाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

अस्पताल परिसरमै बिरामीको मृत्यु भएपछि स्वाब सङ्कलन गरेर परीक्षण गरिने भएको छ । साथै बिरामी लिएर आएका दुई जना महिला र चालकको समेत स्वाब सङ्कलन गरिने भएको छ ।

यसै गरी कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आइसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० वर्षीया जङ्गलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेसनमा मृत्यु भएको हो ।

मृतक सरदारको कोरानाको लक्षण देखिएपछि कोशीको आइसोलेसनमा भर्ना गरिएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । मृतक सरदारको स्वाब सङ्कलन गरेर परीक्षण गराइने मेसु दासले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?