चित्र मिजार
सिन्धुपाल्चोक, साउन १० गते । बाढी र पहिरोको उच्च जोखिमा परेको बाह्रबिसे नगरपािलका-५, जम्बु, शिरिशे, खाग्दलका तीन दर्जन बढी घरका स्थानीयहरू अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दैआएका छन् । अन्यत्र काहीँ पनि बस्ने भूमि नभएपछि बाढी पहिरो क्षेत्रमा नै जम्बु र खाग्दलबासी बस्न बाध्यतामा परेका हुन् ।
जम्बु बाढीले सर्लक्कै पारेर २५ वटाभन्दा बढी घर बगायो । बाँकी रहेको सातवटा घरमा स्थानीय बस्दैआएका छन् । अन्त कतै जाने ठाउँ छैन । यहीँ नबसेर के गर्नु ? बाढीमा परिवारका सदस्य गुमाएका चरिबहादुर तामाङले पीडा व्यक्त गर्नुभयो ।
जम्बु, खाग्दल, कसेरी, तातोपानी, बुलकुटेका ६७ बढी घर बाढी र पहिरोले नामनिशाना मेट्ने गरी बगायो । उक्त दुई स्थानको बीचमा शिरिशे गाउँ रहेको छ । सो गाउँमा दर्जन बढी घर रहेको छ । सो बस्तीमाथि रहेको गातीका डाँडो जीर्ण अवस्थामा रहेको भूगर्भविदहरूले बताउँदैआएका छन् । तर त्यही डाँडोमुनि शिरिशेबासी बस्दैआएका छन् । जुनसुकै बेला उक्त पहाड पहिरोमा परिणत भएर आउन सक्ने खतरा भूगर्भविदले दिएका छन् । तर शिरिशेवासी सोही पहाडमुनि बाध्यताले बस्दैआएका छन् । सो ठाउँकी जोलानी तामाङले अन्यत्र काँही जग्गा नभएपछि यहीँ बस्नु परेको पीडा व्यक्त गर्नुभयो ।
त्यसो त कसेरी, बुकामलगायतका बस्तीका स्थानीय पहिरो क्षेत्रमा बस्नुपरेको स्थानीय शिक्तल लामाले दुखःसो पोख्नुभएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी गाउँ, खोकुण्डोल, चाकुलगायतका स्थानीय पहिरोमुनि नै बस्नुपरेको चाकुका सञ्जीव श्रेष्ठले पीडा पाेख्नुभयाे । कहीँकतै बस्ने जमिन नभएपछि पहिरोमुनिको बस्तीमा बस्नुपरेको श्रेष्ठले बताउनुभयो । बाढी र पहिरोमुनि बस्दैआएका स्थानीयलाई स्थानीय सरकारले केही कदम चाल्न सकेको छैन ।
असार २५ गते राति भोटेकोशी नदी र एल्मो ठाडोखोलामा आएको भीषण बाढीले बाह्रबिसे नगरपालिका-५, जम्बुका २५ घर, खाग्दलका २२ घर, तातोपानीका १३ घर, बुलकुटेका पाँच घर र कसेरीको दुई घर गरी ६७ घर बाढीले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।