logo
२०८१ बैशाख ७ शुक्रवार



निषेधाज्ञापछि सुनसान वीरगञ्ज बजार

फिचर |
प्रदेश |


निषेधाज्ञापछि सुनसान वीरगञ्ज बजार


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १० गते । पछिल्ला केही दिनमा दैनिक नयाँ सङ्क्रमित फेला पर्न थालेपछि कोरोना सङ्क्रमण नियन्त्रणबाहिर जान नजाओस् भनी स्थानीय प्रशासनले वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको कारण शनिबार पहिलो दिन वीरगञ्ज बजारक्षेत्र सुनसान बनेको छ ।
सडकमा अत्यावश्यक कामले हिँडेका केही सर्वसाधारण, ड्युटीमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै देखिन्थे भने वीरगञ्ज बाहिरबाट वीरगञ्ज आएकालाई फिर्ता पठाइएको थियो । महानगरका भित्री गल्लीहरूमा भने केही मात्रामा खाद्यान्नलगायत अत्यावश्यक पसलहरू खुलेकाले मानिसहरूको चहलपहल देखिन्थ्यो ।
शुक्रबार दुई जना सङ्क्रमितको मृत्यु भएको र पछिल्लो एक सातामा कोरोना सङ्क्रमणबाट तीन जनाको वीरगञ्जमा नै मृत्यु भएकाले सर्वसाधारणमा त्रास छाएको छ ।


सङ्क्रमितसँगै मृतकको सङ्ख्या बढ्न थालेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सङ्क्रामक रोग ऐन, २०२० अनुसार महानगरमा अर्को आदेश नभएसम्मका लागि शनिबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार , भन्सार, आइसीपी, ड्राईपोर्ट, बैङ्क, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन गर्न पाइने छैन । त्यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।


भारतीय सीमा क्षेत्रबाट लुकीछिपी आउने मानिसहरूको आवागमन रोक्न सुरक्षाकर्मीहरूको गस्ती बढाउने, अत्यावश्यक अवस्थामा नेपाल आउनुपर्ने नेपालीका लागि रक्सौल (वीरगञ्ज सीमा नाका)बाट मात्रै आउन दिने निर्णय जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।
गरिएको निषेधाज्ञाको अवज्ञा गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?