दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ११ गते । वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा कोरोनाको शङ्स्कास्पद रोगीको रुपमा उपचारत एक ६५ वर्षीय एक पुरुषकाे आइतबार बिहान मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरमा बसोबास गर्दैआउनुभएका ६५ वर्षका ज्येष्ठ नागरिकको नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको डा. निरजकुमार सिंहले बताउनुभयो ।
आइतबार मृत्यु भएका ती व्यक्तिकाे स्वास्थ्यमा समस्या आएपछि शनिबार नारायणी अस्पतालको ईमरजेन्सीमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियाे । शनिबार राति ८ बजे आरडीटी पोजिटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगि उपचार सुरु गरिएको डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
शनिबार नै नारायणी अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका बेला ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो तर हालसम्म रिपाेर्ट आएको छैन् । मृत्यु भएका ज्येष्ठ नागरिक जो आदर्शनगरका व्यापारी रहेको र उहाँ पहिलेदेखि नै मुटु र मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा. निरज कुमार सिंहले बताउनुभयो । मृत्यु भएका ज्येष्ठ नागरिक भारतीय नागरिक हुन् । ज्येष्ठ नागरिकको शवलाई अस्पतालमा नै राखिएको छ । साँझसम्म पीसीआर परीक्षणको रिपोर्ट आइसक्ने बताइएको छ ।
यसअघि गएको शुक्रबार पनि आरडीटी पोजिटिभ आएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । उक्त युवतीको मरणोपरान्त पीसीआर परीक्षणमा कोरोना सङ्क्रमणकाे पोजिटिभ रिपोर्ट आएको थियो ।
उपचाररत चार सङ्क्रमितको अवस्था गम्भीर
वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको डा. निरजकुमार सिंहले बताउनुभयो ।
'चारै जनालाई आईसियूमा अक्सिजन दिएर राखिएको छ , अवस्था जटिल नै छ केही भन्न सकिँदैन', डा. सिंहले भन्नुभयो । गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत पाँच जना शङ्कास्पद सङ्क्रमितहरूको समेत अवस्था जटिल रहेको बताइएको छ ।
अस्पतालको क्षमताअनुसार बिरामी भरिएकाले नयाँलाई राख्ने स्थान नै नभएको हाल ५४ जना सङ्क्रमितहरू उपचाररत रहेको डा. सिंहले बताउनुभयो । पर्सामा कोरोनाका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । बाराका तीन र पर्साका तीन जना हुन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक सङ्क्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।