logo
२०८१ मंसिर १४ शुक्रवार



प्रादेशिक अस्पतालको आइसीयू सिल, मृतक दीर्घ रोगी थिएनन्

फिचर |
पढ्नै पर्ने |


प्रादेशिक अस्पतालको आइसीयू सिल, मृतक दीर्घ रोगी थिएनन्


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १२ गते । धनुषामा कोभिड–१९ बाट एक युवाको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयू ‘सिल’ गरिएको छ । अस्पताल प्रशासनले आइतबार राति नै आईसीयू सिल गरेर सोमबार बिहान जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिरामीको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङग’को काम भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले आईसीयूमा भर्ना गरिएका युवाको मृत्युपछि आइसीयू वार्ड सिल गरिएको जानकारी दिनुभयो । आईतबार राति धनुषाको शहीदनगर नगरपालिकाका एक जना युवाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको थियो । मृतक परिवारका सबै जना सदस्यलाई क्वारेन्टिनमा राखिएको छ ।

शहीदनगर नगरपालिकाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो ।
यसैबीच, प्रादेशिक अस्पताल जनकपुरधामले मृत्यु भएको युवा दीर्घ रोगी नरहेको स्पष्ट गरेको छ । धनुषाको आइसोलेशन वार्ड संयोजक डा. जामुन सिंहले ‘हाइ भाइरल लोड’को कारण उहाँको मृत्यु भएको जानकारी दिनुभएको छ ।

धनुषास्थित कोभिड–१९ आइसालेशन वार्डका संयोजक डा. जामुन सिंहका अनुसार बिरामीको कुनै यात्रा वृत्तान्त, जोखिम निम्ताउने (मधुमेह, दम) लगायतको कुनै दीर्घ रोग फेला परेन ।
डा. सिंहले प्रादेशिक अस्पतालको पहुँचमा रहेको भेन्टिलेटरमा अन्य बिरामीहरु रहँदा तात्कालै भेन्टिलेटरको आवश्यकता पुरा गर्न नसकेपछि परिवारजनले बाहिर रेफर गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । आइतबार साँझ मात्रै आइसीयूमा रहेका बिरामीको आरटी पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
शहीदनगर डुमरियाका युवा नगरपालिकाको डुमरिया चौकमा व्यवसाय गरि बसेका थिए । सामान खरिद गर्न भारत ओहोरदोहोर गर्दा युवा कोभिड–१९ को सङ्क्रमित भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रादेशिक अस्पताल, जनकपुरधामका अनुसार उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार उच्च ज्वरोसँगै श्वास लिन समस्या भएर अस्पताल भर्ना भएका युवाको स्वास्थ्य अवस्था अस्थिर भएपछि थप उपचारका लागि परिवारजनकै आग्रहमा बाहिर लग्न चिकित्सकले सुझाब दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?