logo
२०८१ असोज १२ शनिवार



चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सधैँका लागि बन्द

फिचर |
अन्तर्राष्ट्रिय |


चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सधैँका लागि बन्द


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १२ गते । चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रुपमा बन्द गरिएको छ । अमेरिका र चीनबीच बिग्रँदो सम्बन्धको असर दुवै देशभित्रका कूटनीतिक नियोगको कार्यालयमा कटौती गर्ने स्थितिसम्म पुगेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार भवनमाथि फहराइरहेको अमेरिकी झण्डा हटाइएको छ ।

वाणिज्यदूत बाहिर निस्किन लाग्दा दूतावास अगाडि जमा भएर दर्शकलाई पछाडि धकेल्दै प्रहरीले मार्ग प्रशस्त गरेका थिए ।
बेइजिङले गत शुक्रबार छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो । अमेरिकाको टेक्सस राज्यको हयुस्टनस्थित चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले आदेश गरेको केही दिन नबित्दै बेइजिङगले यस प्रकारको आदेश गरेको हो । चीन सरकारले समेत अमेरिकालाई ७२ घण्टाभित्र दूतावास बन्द गर्न समयसीमा निर्धारण गरेको थियो ।
समयसीमा समाप्त भइरहँदा चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी बिहान दश बजेबाट दूतावास बन्द गरिएको उल्लेख गरेको छ । साताको अन्त्यमा करिब एक करोड ६५ लाख जनसङ्ख्या रहेको छङदु शहरका हजारौँ बासिन्दाले बन्द हुन लागेको दूतावास अगाडि सेल्फी लिएका थिए ।


सीएनएनका अनुसार दक्षिण पश्चिम सिचुआन प्रान्तको राजधानीसमेत रहेको चिनियाँ शहर छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास अमेरिकाका लागि चीन हेर्ने महत्त्वपूर्ण स्थल मानिँदैआएको छ । अमेरिकाका तात्कालीन उपराष्ट्रपति जर्ज डब्ल्यु बुशले सन् १९८५ मा छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावासको उद्घाटन गर्नुभएको थियो ।
चीनस्थित अमेरिकी मिशनले ट्वीटरमा एक भिडियो साझा गर्दै लेखेको छ, “आज हामीले छङ्दुस्थित महावाणिज्य दूतलाई बिदाइ गर्यौं, हामीले सबैलाई सधैँका लागि सम्झिरहनेछौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?