गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५३ जना कोरोनाभाइरसको नयाँ सङ्क्रमित थपिएको जनाएको छ । जसमध्ये ४८ जना काठमाडाैँका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट ५३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक तथा काठमाडाैँका ११ जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपीकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, टेकुमा गरिएको परीक्षणमा काठमाडाैँका नौ तथा ललितपुरका एक गरी दश जना नयाँ सङ्क्रमित थपिएका छन् ।
ललितपुरस्थित पाटन अस्पतालमा एक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा एक, नेपाल प्रहरी अस्पतालमा २१ तथा स्टार अस्पताल सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडाैँका छ र ललितपुरका दुई जना काठमाडाैँमा उपत्यकामा कुल ५३ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयले काठमाडाैँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रवेशको नाकामा नमुना परीक्षण सुरु गरेको छ । काठमाडाैँ प्रवेशको तीन नाकामध्ये फर्पिङ् नाकाबाट ९५५, थानकोट नाकाबाट दुई हजार ९१४ र साँगा नाकाबाट ९४४ जनाको स्वाब सङ्कलन गरिएको छ । तीनै नाकाबाट चार हजार ८१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बझाङका एकजनाको कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको जनाएको छ । बझाङको बुङ्गल गाउँपालिका-३ का ६३ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएकोमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । दम रोगबाट पीडित उहाँ असार २४ गते नेपाल फर्किनुभएको थियो ।