logo
२०८१ बैशाख २५ मंगलवार



कैलाली बाढी अपडेटः बगेर चार जना बेपत्ता

फिचर |
प्रदेश |


कैलाली बाढी अपडेटः बगेर चार जना बेपत्ता
डुबानमा परेकाकाे उद्धार गर्दे सशस्त्र प्रहरीका जवान


अविनाश चौधरी
धनगढी, साउन १४ गते । कैलालीमा बुधबार आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ काे विभिन्न गाउँका व्यक्ति बगेर बेपत्ता भएका हुन् । बाढीमा बगेका दुई जनाको भने सकुशल उद्धार गरिएको छ । सुरक्षा अधिकारीका अनुसार भजनी नगरपालिका–८ जनकपुरका ११ वर्षीय बालक स्केल चौधरी बिहान नालामा डुबेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो ।
यसैगरी, सोही वडाकै सोनाफाँटानजिक खोला तर्न खोज्दा अर्का व्यक्ति बेपत्ता हुनुभएको छ । सुदूरपश्चिम २०–३००१ प ३५०६ नम्बर मोटरसाइकलमा सवार व्यक्ति बगेर बेपत्ता भएको उहाँले जानकारी दिनुभयो । बिष्टका अनुसार हुलाकी राजमार्गमा गइरहेका ती व्यक्तिले मोटरसाइकल रोकेर खोला तर्न खोज्नुभएको थियो । बेपत्ता व्यक्तिको नाम, थर खुलेको छैन ।
यस्तै, भजनी नगरपालिका–८ का ४० वर्षीय इश्वर शाह र सोही वडाका ३३ वर्षीय चक्र विक पनि बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रहरी उपरीक्षक कमल तिमल्सिनाले जानकारी दिनुभयो ।
बाढीमा बगेका दुई जनाको भने सकुशल उद्धार गरिएको छ । भजनी नगरपालिका–८ का हेमन्त शाह र बिक्की शाहको सकुशल उद्धार गरिएको तिमलसिनाले जनाउनुभयो ।
मङ्गलबार रातिबाट भइरहेको वर्षाका कारण कैलालीमा रहेका सम्पूर्ण नदीमा पानीको बहाव बढेको छ । बाढी, डुबानका कारण जिल्लास्थित विभिन्न स्थानीय तहका करिब ८०० घर परिवार प्रभावित भएका छन् । प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?