logo
२०८१ मंसिर १४ शुक्रवार



नेपालगञ्जमा एकै दिन २७ जना कोरोना सङ्क्रमित थपिए

फिचर |
पढ्नै पर्ने |


नेपालगञ्जमा एकै दिन २७ जना कोरोना सङ्क्रमित थपिए


सिराज खान

नेपालगञ्ज, साउन १५ गते । बिहीबार एकै दिन २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज सहर फेरि एकपटक कोरोना हटस्पट बनेको छ । साथै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पनि पुष्टि भएको छ ।

नगरको त्रिभुवन चोक वरिपरिको क्षेत्र र गणेशमान चोकस्थित आन्तरिक राजस्व कार्यालय कोरोनाको नयाँ हटस्पट बनेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार आकस्मिक गरिएको परीक्षणमा त्रिभुवन चोकको एक मिठाई पसलका सञ्चालक र आन्तरिक राजस्व कार्यालयका एक अधिकृतमा सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकोहरूको परीक्षण गर्दा बिहीबार २७ जना सङ्क्रमित थपिएका हुन् ।

नेपालगञ्ज वडा नम्बर ११ को त्रिभुवन चोक वरिपरिबाट बिहीबार १६ जना सङ्क्रमित थपिएको र आन्तरिक राजस्व कार्यालयबाट ११ जना सङ्क्रमित थपिएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले यातायात कार्यालयका कर्मचारीको सम्पर्कमा आएकाहरूको परीक्षण भइरहेकोले अझै सङ्क्रमित थपिने सम्भावना पनि व्यक्त गर्नुभयो । एकैदिन यति धेरै सङ्ख्यामा समुदायबाट सङ्क्रमित थपिएपछि नेपालगञ्जमा सन्त्रास फैलिएको छ । परीक्षणलाई अझै बढाउनुपर्ने माग बढ्दैगएको छ ।

यसअघि वैशाख १९ गते नेपालगञ्जको वडा नम्बर ८ मा पहिलो सङ्क्रमित भेटिएका थिए भने उनको सम्पर्कमा आएकाहरूमध्येबाट २५ जना सङ्क्रमित भेटिएपछि सो क्षेत्र हटस्पट बनेको थियो ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जिल्लामा सङ्क्रमित घटेर २४ जनामा झरेको बेला एक्कासी २७ जना थपिँदा आइसोलेसनमा रहनेको सङ्ख्या ५१ जना पुगेको बताउनुभयो ।

उहाँले यसअघि बन्द गरिसकेको नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटलको आइसोलेसन सेन्टर बिहीबारबाट पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो ।

एकै पटक समुदायस्तरबाट धेरैजनामा सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेमा फेरी बन्दाबन्दी लगाउने तयारी गरिरहेको जनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा सङ्क्रमण पुष्टि भएपछि अब त्यसको नियन्त्रण र रोकथामका लागि बन्दाबन्दी लगायतका विभिन्न योजनाहरू बनाइरहेको बताउनुभयो ।


सुरक्षा प्रमुखहरूले जनचेतना फैलाउँदै मास्क वितरण गरे

नेपालगञ्जमा कोरोनाको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका सुरक्षा प्रमुख र जनप्रतिनिधिले सडकमा निस्किएर चेतना फैलाउँदै मास्क वितरण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी र कुरुमवांगसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागका जिल्ला प्रमुखलगायत उपमहानगरपालिकाका उपप्रमुखले बजारमा पैदल हिँडेर सर्वसाधारणलाई कोभिड १९ बाट सचेत र सजग रहने सन्देश दिँदै मास्क वितरण गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र, बाँकेको संयुक्त आयोजनामा बुधबार साँझ धम्बोझी चौकबाट शुरु भएको जनचेतनामुलक र्यालीले बीपी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड हुँदै सेतु विक चोकबाट पुनः धम्बोझीसम्म पुगेर सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै मास्क वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?