अविनाश चौधरी
धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण वृद्धिदरमा कमी आएको छैन । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २३ सहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकामा आठ महिला र आठ पुरुष गरी १६ जना थप नयाँ सङ्क्रमित फेला परेका छन् ।
यस्तै, कैलालीकै टीकापुरमा ५० वर्षीया एक महिला र डेढ वर्षका एक बालकसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, कञ्चनपुरको भीमदत्त नगर, बझाङको मष्टा गाउँपालिका–१ र छब्बीस पाथिभेरा गाउँपालिकाका एक/एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिम प्रदेशभरि कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २९२ पुगेको छ । तीन हजार आठ सय जना व्यक्ति कोरोना जितेर घर फर्किसकेका छन् । भने, कोरोनाका कारण यो प्रदेशमा हालसम्म नौ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
बन्दाबन्दी खुलेको र नयाँ सङ्क्रमण वृद्धिदर कम नभएका कारण यो प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेको छ ।