logo
२०८१ मंसिर १४ शुक्रवार



सङ्क्रमण फैलिएका क्षेत्रहरूलाई कोर एरिया घोषित गरेर सिल गरिँदै

फिचर |


सङ्क्रमण फैलिएका क्षेत्रहरूलाई कोर एरिया घोषित गरेर सिल गरिँदै
पछिल्लो पटक कोरोनाको केन्द्र बनेको त्रिभुवन चोक, निषेधाज्ञापछि सुनसान छ ।


सिराज खान
नेपालगञ्ज, साउन १८ गते । नेपालगञ्जमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको पाइएपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न कोरोना सङ्कट व्यवस्थापन समिति बाँकेले विभिन्न कार्यहरू शुरु गरेको छ ।

सो क्रममा बाँकेमा शनिबार राति १२ बजेदेखि तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ भने सङ्क्रमण देखिएको नेपालगञ्जका केही क्षेत्रहरूलाई कोर एरिया घोषित गरेर सिल गर्न शुरु गरिएको छ ।

कोरोना सङ्कट व्यवस्थापन समिति, बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायमा सङ्क्रमण फैलिएपछि नेपालगञ्जको त्रिभुवन चोक तथा सो वरिपरिको सदरलाइन, एकलैनीको केही भाग, सुनारमण्डी तथा गणेशमान चोक क्षेत्रलाई कोर एरिया घोषित गरेर सिल गर्न शुरु गरिएको बताउनुभयो । उहाँले सिल गरिएका क्षेत्रमा कसैलाई पनि आवागमन गर्न नदिने तथा ती क्षेत्रमा बसोबास गर्नेहरूका लागि अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाइने बताउनुभयो ।

नेपालगञ्जमा मात्र सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सक्रमण देखिएको थियो ।  त्रिभुवन चोकमा मिठाइ पसल सञ्चालकमा सङ्क्रमण पुष्टि भएपछि उनको सङ्क्रमणमा आएका १६ जना सङ्क्रमित फेला परेका थिए भने गणेशमान चोकमा रहेको आन्तरिक राजस्व कार्यालयमा एक अधिकृतमा सङ्क्रमण पुष्टि भएपछि सो कार्यालयका १४ जनामा सङ्क्रमण देखिएको थियो ।

यस्तै, जिल्ला अदालत, एकलैनी र यातायात कार्यालयमा पनि सङ्क्रमतिहरू फेला परेका थिए ।

उता, निषेधाज्ञाका कारण आइतबार बिहानैदेखि नेपालगञ्जलगायत बाँकेका अन्य सहरी क्षेत्रहरू सुनसान देखिएका छन् । सवारी साधन र पसलहरू बन्द रहेका छन् भने सर्वसाधारणको हिँडडुल पनि निकै कम देखिएको छ ।

नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत सहरी क्षेत्रमा ठूलो सङ्ख्यामा चोक चोकमा सुरक्षाकर्मीहरू खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालनमा रहेको बताउनुभयो ।

उहाँले सो अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडी मात्र सञ्चालनमा रहेको बताउनुभयो ।  अत्यावश्यकीय कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको जनाउँदै निषेधाज्ञाको अटेर गरेर अनावश्यक रूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा अहिलेसम्म ४३७ जनामा भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३८७ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको थियो । हाल ४८ जना सङ्क्रमित विभिन्न आइसोलेसनमा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?