धीरेन्द्रप्रसाद साह
राजविराज, साउन १८ गते । राजविराज नगरपालिका वडा नं. ७ स्थित गुद्री हटिया आइतबारदेखि अनिश्चितकालको लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय नगरवासीले कोरोनाको त्रास बढेपछि निषेधित क्षेत्र घोषणा गर्दै हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । हटिया प्रवेश गरिने नौ मुख्य प्रवेशद्वारमा प्रवेश निषेधको ब्यानर झुण्ड्याएर हटियालाई निषेधित क्षेत्र घोषणा गरिएकाे हाे ।
हिजो शनिबार राति आएको पीसीआर परीक्षण रिपोर्टमा राजविराज नगरपालिका वडा नं. ७ मा थप दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
गत साउन १ गते राजविराज नगरपालिका-६ का ७३ वर्षीय व्यापारीको कोराना सङ्क्रमणबाट मृत्यु र उहाँबाटै हालसम्म करिब ४०/५० जना सङ्क्रमित भएपछि नगरवासी त्रसित भएका छन् । राजविराज नगरपालिकाले ७ गतेदेखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन र स्थानीय प्रशासनले वडा नं. ६ सिरहारोडमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जयकुमार घिमिरेले स्थानीय प्रशासनसँग समन्वय नगरे पनि स्वास्थ्य सुरक्षाको लागि हटियालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा समर्थन रहने बताउनुभयो ।
‘हामीले पनि हाट बजार नलगाउन, भिडभाड नगर्न, भौतिक दूरी कायम गर्न भनेका छाैँ,’ उहाँले भन्नुभयो, ‘यसैको लागि उहाँहरूले निषेधित गरिएको हो । समर्थन गर्नैपर्छ ।’