जयकृष्ण यादव
इनरुवा, साउन १९ गते । मोरङमा कार्यरत एक प्रहरी हवल्दार सुनसरीकै भएर घर आएको र कोरोना पुष्टि भएको घटना सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत अर्का एक प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ ।
प्रहरी कार्यालय हाताभित्र चमेना गृह सञ्चालन गर्दैआएका पुरुष प्रहरी सङ्क्रमित पाइएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीले समेत कोरोना सङ्क्रमणको पुष्टि गरेको छ ।
प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन सञ्चालन गर्दै आएका जवान कोरोना सङ्क्रमित भेटिएसँगै उहाँसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । सङ्क्रमित प्रहरी जवान परिवारसहित बस्दैआउनुभएकाे छ । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांश प्रहरीहरू चिया नास्ता खाने गर्छन् । सङ्क्रमित भेटिएको भनिएका व्यक्ति चिया र नास्ता बोकेर कार्यालयका फाँटसम्मै पुग्ने गरेको र सागसब्जीसहित क्यान्टिनमा आवश्यक सामान किन्न बजार पसलसम्म पुग्ने गरेको पाइएको छ । कार्यालयभित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार सङ्क्रमितसँगको प्रत्यक्ष सम्पर्कको आधारमा कम्तीमा ४० जनाको तत्काल स्वाब सङ्कलन गरी परीक्षण गरिने छ ।
कार्यालयमा रहेको जनशक्तिमध्ये सङ्क्रमितसँग सम्पर्कमा नआएकाहरूलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताउनुभयो । कार्यालय तत्काल सिल गर्नुभन्दा पहिलो चरणमा स्वाब सङ्कलन गरिएकाहरूको नतिजापश्चात आवश्यक निर्णय गरिने सुनसरी प्रहरीले जनाएको छ । स्वास्थ्य कार्यालय, सुनसरीका अनुसार दुई दिनअघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखसहित ३० जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजिटिभ पाइएका हुन् । स्वास्थ्य कार्यालय, सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार कार्यालयभित्रको कर्मचारीमा सङ्क्रमण देखिएकाले तत्कालका लागि प्रहरीहरूको मुभमेन्ट बाहिर गराइनु हुँदैन ।
सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्तीमा पहिलो चरणको स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म प्रहरी कर्मचारीहरूलाई कार्यालय हातामै सुरक्षित राखिनुपर्ने प्रसाइँ बताउनुहुन्छ । जसका लागि प्रहरीसँग स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको प्रसार्इंले बताउनुभयो ।
उता सुनसरीको धरानमा पनि एक जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाका एक सवारी चालकसहित इटहरीमा थप तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको ६६ जनाको स्वाब पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।