विष्णुप्रसाद पोखरेल
दमक, साउन १९ गते । सोमबार झापामा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । समुदायमा एकजना कोरोना पोजिटिभ देखिएपछि बन्दाबन्दी गरिएको अर्जुनधारा नगरपालिकामा चार जना र आजैबाट बन्दाबन्दी घोषणा गरिएको बिर्तामोड नगरपालिकामा एकजनामा कोरोना पोजिटिभ भेटिएको हो ।
अर्जुनधारामा कोराना पोजिटिभ देखिएका चारजना नै पुरुष रहेको र बिर्तामोडमा एक महिलामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायमा फैलन सक्ने त्रास भएको भन्दै स्थानीय पालिकाहरूले जाँचलाई तीव्र बनाउँदै लकडाउन तथा सिल गर्न पनि थालेका छन् ।
झापामा सोमबारसम्ममा ३७५ जनामा कोरोना पुष्टि भइसकेको छ । एघार हजारभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण नरोकिएको र समुदायमा समेत देखिन थालेकाले सबै स्थानीय तहहरूले सतर्कता अपनाउन थालेका छन् । भारतबाट लुकिछिपी आउने कारण समस्या बढेको बताइन्छ ।
यसैबीच झापामा एक साता यता ड्युटीमा रहेका प्रहरीहरूमा समेत कोरोना सङ्क्रमण देखिन थालेसँगै समुदायमा कोरोना सङ्क्रमणको त्रास पनि बढेको छ । ड्युटीमा खटिने प्रहरीलाई फेस सिल्ड, पञ्जा र साथमा सेनिटाइजरलगायत स्वास्थ्य सामग्री अनिवार्य गरिएको पनि बताइएको छ ।
बिर्तामोडमा रोटरी क्लबलगायत विभिन्न संघसंस्थाहरूले प्रहरीलाई फेस सिल्ड पनि प्रदान गरिएकाे छ । इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ५० थान र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ३० थान फेस शिल्ड रोटरी क्लबले प्रदान गरेको हो । बिर्तामोडमा एक महिला प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।