logo
२०८१ फाल्गुन ३० शुक्रवार



सरकारी कार्यालय नै हटस्पट बने, एक सातामा चार कार्यालय सिल

फिचर |
प्रदेश |


सरकारी कार्यालय नै हटस्पट बने, एक सातामा चार कार्यालय सिल


सिराज खान
नेपालगञ्ज, साउन २० गते । सर्वसाधारणको सबैभन्दा बढी भिडभाड हुने नेपालगञ्जका प्रमुख सरकारी कार्यालयहरू नै एकपछि अर्को गरेर कोरोना हटस्पट बन्दैगएका छन् ।
करिब एक साताअघि आन्तरिक राजस्व कार्यालयका एक अधिकृृतमा कोरोना देखिएपछि शुरु गरिएको परीक्षणको क्रममा सो कार्यालयलगायत यातायात कार्यालय, बाँके जिल्ला अदालत र नेपालगञ्ज उपमहानगरपालिकाका धेरै कर्मचारी सङ्क्रमित फेला परेपछि ती कार्यालय हटस्पट बनेका हुन् ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले एक साताको अवधिमा नगरमा रहेका चार वटा प्रमुख सरकारी कार्यालय र एक मिठाई पसलमा ६२ जना सङ्क्रमित फेला परेपछि ती सबै कार्यालय र पसल सिल गरिएको बताउनुभयो ।

उहाँले जनताको प्रत्यक्ष सरोकार हुने ती कार्यालयका कर्मचारीमा सङ्क्रमण भेटिएपछि समुदाय नै चपेटामा परेको जनाउँदै  नियन्त्रणका लागि योजनाबद्ध प्रयास शुरु गरिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख शाहका अनुसार आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र यातायात कार्यालय, नेपालगञ्ज हुँदै बाँके जिल्ला अदालत पुगेको कोरोना अहिले नेपालगञ्ज उपमहानगरपालिकाको जनप्रतिनिधि र कर्मचारीमा समेत देखिएपछि अवस्था जटिल बन्दैगएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगरले दैनिक सयौँ जनताको आवागमन हुने सरकारी कार्यालयमा यति धेरै सङ्क्रमित भेटिनुले नेपालगञ्ज अत्यधिक जोखिममा रहेको पुष्टि गरेको बताउनुभयो ।

उहाँले यो जिल्लालाई सङ्क्रमणको चपेटाबाट जोगाउन विशेष रणनीति बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
एकपछि अर्को गरेर जिल्लाका चारवटा प्रमुख सरकारी कार्यालय सिल गरिएपछि अहिले कर तिर्ने, अदालतमा जाने, यातायातमा काम पर्ने र उपमहानगरपालिकामा तथा वडा कार्यालयमा काम पर्ने सेवाग्राही समस्यामा परेका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले काम विशेषले ती कार्यालयमा पुग्ने सेवाग्राहीहरू त्यहाँ टाँसिएका सूचना पढेर केही दिनयता घर फर्कन बाध्य भइरहेको बताउनुमभयो ।
उहाँले जनताको बढी भिडभाड हुने विद्युत कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको पनि परीक्षण गर्नुपर्ने दबाब बढिरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत छ दिनको अवधिमा मात्र नेपालगञ्जमा ६२ जनामा सङ्क्रमण देखिएपछि चारैतिर सन्त्रास फैलिएको छ ।

यहाँस्थित नेपाल भारत सिमानाबाट निर्बाध आवतजावत र पहुँचका आधारमा सहज तरिकाले आफ्ना मान्छे भारतबाट नेपालगञ्ज भित्राई होम क्वारेन्टाइनको बहानामा टोल बस्तीमा ल्याउनेजस्ता कार्यले गर्दा नेपालगञ्ज उच्च जोखिममा पुगेको अधिकांश नगरवासीको ठम्याइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?