गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २० गते । काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडाैँमा ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना गरी उपत्यकामा ६२ जना सङ्क्रमितको पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । काठमाडाैँमा पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढ्दैगएको छ । उपत्यकाको करिब १४ वटा अस्पताल तथा प्रयोगशालामा कोरोना सङ्क्रमणको परीक्षण हुँदैआएको छ । सोमबार काठमाडाैँमा ५१ जना नयाँ सङ्क्रमित थपिएको थियो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा गरिएको परीक्षणमा भक्तपुरका ११ तथा काठमाडाैँका ३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । वीर अस्पतालमा काठमाडाैँका एक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा काठमाडाैँका पाँच जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
त्यसैगरी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जमा भक्तपुरका एक, स्टार अस्पताल–सानेपामा काठमाडाैँका दुई र ललितपुरका एक तथा बीआइडीएच प्रयोगशालामा काठमाडाैँका तीनजनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपाल कोरिया मैत्री अस्पताल–भक्तपुरमा भक्तपुरका एक जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।