नगेन्द्रकुमार कर्ण
जलेश्वर, साउन २० गते । महोत्तरी जिल्लामा केही दिनयता कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्यामा बढोत्तरी हुँदैगएको छ । महामारीको कारण अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूले स्वास्थ्य चौकीसमेत बन्द गर्न थालेका छन् ।
मङ्गलबार पनि महोत्तरीमा १४ जना नेपाली सेना र एक जना सम्सीमा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । हिजो सोमबार मात्रै जलेश्वर नगरपालिकामा काम गर्ने २५ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको थियो । केही स्वास्थ्यकर्मीहरूमा समेत कोरोना पोजिटिभ देखिएको भन्दै जलेश्वर नगरपालिकाको अनकार स्वास्थ्य चौकीले सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरेको छ ।
कोरोना महामारीका कारणले केही स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएको भन्दै साउन २० गतेदेखि २६ गतेसम्म सो स्वास्थ्य चौकीका सम्पूर्ण सेवा बन्द गरिएको हो । महोत्तरीमा लगातार कोरोना पोजिटिभको सङ्ख्या बढदैगएपछि शुक्रबार रातिदेखि नै पाँच दिनको लागि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडानं. ३ र ५ मा निषेधाज्ञा लगाइएको हो ।
स्थानीय प्रशासनले निषेधाज्ञाकै क्रममा पीसीआरको चेकजाँच बढाएपछि यत्तिको सङ्ख्यामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ फोकलपर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
नगरपालिकाका ५४ जना कर्मचारीहरूको पीसीआर परीक्षण गरिएकोमा सोमबार २५ जना कर्मचारीको कोरोना भाइरस पोजिटिभ आएको बताउँदै झाले नेपाली सेनाको रणभीम गण परिकौलीमा रहेका एकजना जवान पनि सङ्क्रमित भएको पुष्टि गर्नुभयो । अहिलेसम्म नेपाली सेनाको २५ जना कोरोना पोजिटिभ देखिएका छन् ।
जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशङ्कर मिश्रले कर्मचारीहरूको ट्राभल हिस्ट्री नदेखिए पनि यत्तिको सङ्ख्यामा कर्मचारी कोरोना पोजिटिभ देखिएकोमा आश्चर्य व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा कोरोना फैलिसकेको आशङ्कामा विभिन्न व्यवस्थापनहरूका साथै सङ्क्रमित कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिनुभयो ।