अविनाश चौधरी
धनगढी, साउन २५ गते । कैलालीको हसुलियास्थित क्वारेन्टाइनमा काम गर्ने क्रममा कोरोना सङ्क्रमण भएको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जित्नुभएको छ । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र क्वारेन्टाइनमा खाना पकाउने कामदारले १२ दिनमा कोरोना जित्नुभएको हो । यसैगरी, कोरोना जित्नेमा भारतबाट फर्केका दुई जना स्थानीय व्यक्ति पनि रहनुभएको छ ।
साउन १३ गते उहाँहरू सबैको स्वाब नमूना सङ्कलन गरिएको थियो । २० गते स्वाब परीक्षणको रिपोर्ट आएको थियो । सङ्क्रमित सात जनामध्ये निको हुनु भएका स्वास्थ्यकर्मीसहित पाँच जनालाई आज घर पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले अब दुई जनाले मात्रै कोरोना जित्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
यसैबीच, सङ्क्रमित हुनु भएका स्वास्थ्यकर्मीलगायत व्यक्तिको सम्पर्कमा आएका १५२ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङ गरिएको ८४ जनाको परीक्षण रिपोर्ट शुक्रबार आएको थियो । ६८ जनाको रिपोर्ट आज आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका बैंकका ११ जना कर्मचारीसहित क्वारेन्टाइनमा रहेका व्यक्ति र क्वारेन्टाइन नजिकका समुदायको गरी ७० जनाको स्वाब नमूना परीक्षणको आज लागि पठाइएको सापकोटाले जानकारी दिनुभयो ।
सो गाउँपालिकामा कर्मचारीसहितका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकथाम र नियन्त्रणका लागि साउन २१ गतेदेखि गाउँपालिकामा बन्दाबन्दी जारी गरिएको थियो । पाँच जना सङ्क्रमित निको भइसकेका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको रिपोर्ट नेगेटिभ आएकाले बन्दाबन्दीलाई खुकुलो गरिने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो ।
‘भोलि बिहान सर्वपक्षीय बैठक बोलाएका छौँ’, उहाँले भन्नुभयो । ‘थप सुरक्षाका लागि मापदण्ड अनुसारको उपाय अपनाउने र बन्दाबन्दी खुकुलो बनाउने सवालमा बैठकमा छलफल हुनेछ ।’
चाडपर्व नजिकिएसँगै भारतबाट फर्किनेक्रम फेरि बढेकाले थप सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको अध्यक्ष चौधरीले जनाउनुभयो । उहाँले अब विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न नसकिने भएका कारण समुदायिक भवन प्रयोग गर्नका लागि वडा कार्यालयहरूलाई निर्देशन दिएको उल्लेख गर्नुभयो ।
‘विद्यालयलाई अब क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्न’, चौधरीले भन्नुभयो । ‘वडामा रहेका सामुदायिक भवनमा क्वारेन्टाइन र आइसोलन बनाउनका लागि सम्पूर्ण वडाहरूलाई पत्र पठाएको छु ।’