दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २६ गते । आइतबार राति अबेर आएको पीसीआर परीक्षण रिपाेर्टअनुसार पर्सा जिल्लामा स्वास्थ्यकर्मी र प्रहरीसहित थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मी र चार जना नेपाल प्रहरीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताउनुभयाे ।
सङ्क्रमित हुनेमा नारायणी अस्पतालकी एक जना नर्स, पर्साको पोखरीया अस्पतालका एक जना चिकित्सक, एक जना नर्स, एक जना अहेब गरी चार स्वास्थ्यकर्मी रहेका छन् भने जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत चार जना प्रहरीमा पनि सङ्क्रमण पुष्टि भएको डा. उपाध्यायले बताउनुभयो ।
त्यस्तै नयाँ सङ्क्रमितहरूमा म्यानस फर्मा उद्योगका तीन जना कर्मचारी, वीरगञ्ज महानगरपालिका वडा नं. ११ का चार जना, वडा नं. १२ का दुई जना, वडा नं. २, ८, १५ र १६ का एक/एक जनामा रहेका छन् । पछिल्लो पटक २२ जनामा सङ्क्रमण देखिएसँगै पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार ४८ पुगेको डा. उपाध्यायले जानकारी दिनुभयो ।