logo
२०८१ मंसिर १४ शुक्रवार



कोरोना सङ्क्रमण बढेपछि हेटौँडासहित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा

फिचर |


कोरोना सङ्क्रमण बढेपछि हेटौँडासहित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा


राममणि दाहाल
हेटौँडा, साउन २६ गते । गत सातादेखि मकवानपुर जिल्लामा कोभिड-१९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार निषेधाज्ञा सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) को दायाँ–बायाँ पाँच–पाँच सय मिटरको क्षेत्रमा निषेधाज्ञा लागू हुने जनाएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको सोमबार हेटौँडामा बसेको बैठकले जिल्लामा कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बन्दाबन्दी अन्त्य भएपछि मकवानपुर जिल्लामा कोभिड–१९ को सङ्क्रमण देखिन थालेकोले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो, 'पछिल्लो सङ्क्रमणको अवस्था हेर्दा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नै फैलिनसक्ने देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नै विस्तार हुनसक्ने उच्च जोखिम देखिएको छ ।' 

खाद्य वस्तु खरिद र स्वास्थ्य उपचारबाहेकका काममा कुनै पनि काममा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र धार्मिक, साँस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध) लगायतका कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलाप सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको सूचना जारी गर्दै एम्बुलेन्स, बिरामी बोकेको गाडी, खाद्यवस्तु, तरकारी, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छीको दाना बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधनबाहेक कुनैपनि प्रकारको सार्वजनिक एवम् निजी सवारीका साधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधी पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । तर खाद्यान्न पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा र अत्यावश्यक सेवाका कार्यालयहरूबाहेक सबै सरकारी तथा निजी कार्यालयहरू, गैरसरकारी, बैङ्क तथा वित्तीय संस्थाहरू, सहकारीबाट प्रदान गरिने जनसम्पर्क हुने नियमित सेवा सञ्चालनमा रोक लगाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

यस्तै जिल्लाको निषेधित क्षेत्र बाहेकका स्थानमा धार्मिक, साँस्कृतिक, सामाजिक (विवाह, व्रतबन्ध) लगायतका कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलाप सञ्चालनमा बन्देज लगाइएको छ ।

जिल्लाका सबै नाकाहरूबाट अत्यावश्यक सेवा सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त बाहेकका सवारी साधनहरू तथा पैदल आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको जारी सूचनामा उल्लेख छ ।

नेपाल सरकारद्वारा लागू गरिएका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरू अनिवार्य रुपमा पालना हुने गरी उद्योगभित्रै वा निश्चित स्थानमा क्वारेण्टाइनको व्यवस्था गरी सम्पूर्ण कर्मचारी तथा कामदार रहने तथा उद्योग परिसर र क्वारेण्टाइन क्षेत्रबाहिर आवतजावत नहुने सुनिश्चत गरेरमात्र उद्योग सञ्चालन गर्न पाइने भएको छ ।

जिल्लाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गलगायत अन्य मूल सडकमा बालवाहक ढुवानीका साधनहरू सञ्चालन गर्न सकिने मकवानपुर प्रशासनद्वारा जारी निषेधाज्ञा सूचनामा भनिएको छ ।

यसअघि प्रजिअ नेपालको अध्यक्षतामा आइतबार साँझ बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवथापन केन्द्रको बैठकले जिल्ला सुरक्षा समितिलाई निषेधाज्ञा जारी गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको प्रादेशिक प्रयोगशाला आइतबार पीसीआर परीक्षण गरिएकामध्ये मकवानपुरका सहित ४४ जनामा कोरोना पुष्टि भएको थियो ।
मकवानपुर जिल्लाका २३, रौतहटको १२, सिन्धुलीको छ, बाराको दुई र नुवाकोट जिल्लाका एक गरी ४४ जनामा कोरोना भाइरस पुष्टि भएको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेडाईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगशालामा आइतबार १४१ वटा स्वाब परीक्षण भएकोमा ९५ वटा स्वाबको नतिजा नेगेटिभ प्राप्त भएको छ । योसँगै मकवानपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८३ जना पुगेको छ । यस्तै बाग्मती प्रदेशमा आइतबार थपिएका १३७ सहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ७७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?