माला कर्ण
सप्तरी, साउन २६ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ को लौनिया कोरोना सङ्क्रमितको हटस्पट बनेको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पीसीआर परीक्षणमा पुनः पाँच जना सङ्क्रमित थप भएपछि एउटै गाउँमा ४२ जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । जसमा तीन जना महिला छन् । तिलाठी कोइलाडी गाउँपालिकामा भने १२ महिलासहित ८८ सङ्क्रमित पुगेको छ ।
एउटै गाउँ लौनियामा पुनः ३२, ३३, ३५ र ४४ वर्षीय पुरुष र ७० वर्षीया महिलामा सङ्क्रमण देखिएको जानकारी दिँदै यादवले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको पुष्टि गरिएको बताउनुभयो । लौनियामा समुदायमा नै सङ्क्रमण देखिएको बताउँदै निमित्त प्रमुख यादवले ट्रयाकिङ्ग र ट्रेसिङ्गको काम जारी रहेको बताउनुभयो । यो सँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ ।
शनिबार मात्र करिब साढे चार सय स्वाबको पीसीआर परीक्षण गरेको जनाउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रणजीतकुमार झाले प्रयोगशालामा राति अबेरसम्म परीक्षण हुने जानकारी दिनुभयो ।
लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएपछि गत साता लौनियाबाट ७९ जनाको स्वाब संकलन गरिएको थियो । विष सेवन पश्चात गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका लौनियाका ५० वर्षीय एक बिरामीमा साउन ९ गते कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएपछि ट्रयाकिङ्ग र ट्र्ेसिङ्ग गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका एक पुरुष र उनको उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।
खुला सीमा नाकाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई कडाईका साथ रोकिएको बताउनुभयो। सङ्क्रमित भएका लौनियावासीलाई सोही वडाको पविमावि लौनियामा सञ्चालन गरिएको आइसोलेसन केन्द्रमा राखिएको छ।
यसअघि शनिबार राति राजविराज १ का २० वर्षीय पुरुष, ५५ वर्षीया महिला, वडा नम्बर ४ का ५, ३२, ३४ वर्षीय पुरुष, २७ वर्षीया महिला र ठेगाना नखुलेका ४८ वर्षीय पुरुष गरी आठ जना तथा दिउँसो राजविराज–५ का २५, ३४, ४० र ६२ वर्षीय पुरुष, ६१ वर्षीया महिला, वडा नम्बर ७ का ५६ र २६ वर्षीय पुरुष गरी सात जनामा सङ्क्रमण पुष्टि भएको थियो । शनिबार सङ्क्रमित देखिएका १५ जनाको आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गाउँमै आइसोलेसन
कोरोना भाइरसका सङ्क्रमितलाई व्यवस्थापन गर्न सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै आइसोलेसन केन्द्र बनाएर सञ्चालनमा ल्याएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियामा तीव्ररुपमा सङ्क्रमण फैलिएसँगै राजविराजस्थित आइसोलेशन केन्द्रमा सङ्क्रमित व्यवस्थापनमा समस्या हुन थालेपछि गाउँपालिकाले आफ्नो तहको आफ्नै आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तिलाठी कोइलाडी गाउँपालिका एक मात्र स्थानीय तह हो । जिल्लास्तरिय संकट व्यवस्थापन केन्द्रमा दुई पटक निर्णय भए पनि अन्य स्थानीय तहले आइसोलेसन सञ्चालनमा चासो दिएका छैनन् ।
तिलाठी कोइलाडी गाउँपालिकाले वडा नम्बर– २ स्थित पब्लिक उच्च माध्यमिक विद्यालय लौनियामा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सतिषकुमार सिंहले जानकारी दिनुभयो । हाल उक्त आइसोलेशन केन्द्रमा आज थप भएका पाँचसहित ३३ जना सङ्क्रमितलाई राखिएको छ।
गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाअनुसार ५० शय्याको आइसोलेसन केन्द्रमा अहिले ३३ जना सङ्क्रमितलाई दुई जना स्वास्थ्य सहायकको निगरानीमा राखिएको छ । तातो पानी पिउन हरेक कोठामा इलेक्ट्रिक जग राखिएको आइसोलेसन केन्द्रमा नियमित सरसफाइ हुने गरेको बताउनुहुँदै झाले सो क्षेत्रलाई सुरक्षा प्रदान गर्न नेपाली सेनाका ११ जना खटिएको बताउनुभयो । सङ्क्रमितहरूलाई बिहान ८ बजे एक पोका बिस्कुट, एक गिलास दुध र दुई वटा अण्डा, ११ बजे सादा खाना, साढे तीन बजे नास्ता र राति ८ बजे सादा खाना, दुई वटा अण्डा र एक गिलास दूध दिने गरिएको उहाँले बताउनुभयो ।