काठमाडौँ, साउन २८ गते । जनकपुरधामका पूर्व नगरप्रमुख कृष्ण गिरीको मृत्यु भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको राति १२ बजेर १० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जनकपुरधामस्थित होटेल रामाका सञ्चालकसमेत रहनुभएका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निवासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति निधन भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । विक्रम सम्वनत् २०४४/४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उहाँ पञ्चायत कालका अन्तिम मेयर हुनुहुन्थ्यो ।
अष्ट्रेलिया र बेलायतमा रहनुभएका गिरीका दुवै छोरा एक साताअघि मात्रै नेपाल आउनुभएको हो । वि.सं. २००५ साल साउन २७ गते जन्मिनुभएका गिरीको ७२ वर्ष पूरा भएकै दिन निधन भएको हो ।