गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । कोरोनाभाइरसबाट पछिल्लो चौबीस घण्टामा आठ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्युको पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक/एक जना गरी आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु दर्ता गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं १ का ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा र जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का ३८ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आईसीयूमा राखेर उपचार गरिरहँदा दुवै जनाको अबेर राति निधन भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं १२ टेकु निवासी ७८ वर्षीया महिलाको आज कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ किस्ट अस्पतालमा उपचाररत रहनुभएको मन्त्रालयले जनाएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नं १४ निवासी ३२ वर्षीय पुरुषको हयाम्स अस्पतालमा उपचारको क्रममा २७ गते निधन भएको छ ।
मन्त्रालयका अनुसार सप्तरीको डाक्रेश्वरी नगरपालिका घर भई राजविराज बस्दैआउनुभएका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । मोरङको बूढीगङ्गा नगरपालिका वडा नं २ स्थायी घर भएका ५५ वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा निधन भएको हो । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा निधन भएको छ । मन्त्रालयले काठमाडौँको किष्ट मेडिकल कलेजमा उपचाररत कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज निधन भएको जनाएको छ ।