दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २८ गते । वीरगञ्जको कुम्हाल टोलमा मङ्गलबार मृत फेला परेका व्यक्तिमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । मङ्गलबार वीरगञ्जको कुम्हालटोलमा मृत अवस्थामा फेला परेका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाहीका ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले गोरखापत्रलाई बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा सामुदायिक प्रहरी कार्यालयनजिकै कुम्हाल टोल जाने बाटोमा मङ्गलबार दिउँसो करिब ३ः३० बजे मृत फेला परेका ठाकुरको बुधबार पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
अत्यधिक मदिरा सेवन गरेर लडिरहेको अवस्थामा ठाकुर मृत फेला परेपछि पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको थियो । मृत्युपश्चात मङ्गलबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको बताइएको छ ।
शव अहिले नारायणी अस्पतालको शवगृहमा रहेको छ । बारा जिल्लाको भएकाले बारा प्रहरीलाई खबर गरिएको छ । बाराबाट सेनाको टोली आएर शव लगेर व्यवस्थापन गर्ने र बाराको नआउने भएमा मात्र पर्सामा नेपाली सेनाले शव व्यवस्थापन गर्ने प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।