मुना हमाल
सुर्खेत, साउन २९ गते । सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण को जोखिम बढेपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । समुदाय स्तरमा सङ्क्रमण देखिन थालेपछि जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भदौँ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्लो स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो । पछिल्लो दुई दिनमा वीरेन्द्रनगरमा ३६ जना कोरोना सङ्क्रमित भेटिएका छन । त्यसमध्ये पनि पाँच जना कुनै पनि ट्राभल हिस्टी नभएका सङ्क्रमित छन् । बिहीबार मात्रै १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म वीरेन्द्रनगरमा १९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसअघि साउन २५ गतेदेखि कोरोना जोखिम बढेको भन्दै बढी भिड हुने जिल्ला प्रशासन, मालपोत, यातायातलगायत कार्यालयमा अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको थियो । कोरोना सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा चाडपर्वका बेला जात्रा, गोष्ठी, सेमिनार नगर्न रोक लगाइसकेको थियो ।
वीरेन्द्रनगरमा निषेधाज्ञा जारी भएपछि उद्योग, व्यापार व्यवसाय, मानिसहरूको आवातजावत बन्द हुुने र औषधि पसल, अस्पताल, फलफूल र दूध डेरी भने सञ्चालन हुनेछन् । प्रमुुख जिल्ला अधिकारी रेग्मीले स्थिति हेरेर लम्बाउने वा हटाउने भन्ने विषयमा पछि निर्णय गरिने बताउनुभयाे । कुनै आयोजना भने निश्चित क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम सञ्चालन भइराख्ने उहाँको भनाइ छ ।
सुर्खेत भित्रिन पीसीआर रिपाेर्ट
अबदेखि सुर्खेत भित्रिन अनिवार्य पीसीआर रिपाेर्ट आवश्यक पर्ने भएको छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले अन्य प्रदेश तथा जिल्लाबाट सुर्खेत भित्रिने नागरिकले अनिवार्य पीसीआर रिपाेर्ट नेगेटिभ आएको देखाउनुपर्ने छ । विशेष गरेर सुर्खेत भित्रिने मुख्य नाका काल्चे, बबई र कुइनेबाट भित्रिने नागरिकले पीसीआर रिपाेर्ट देखाउनुपर्ने छ । प्रजिअ रेग्मीले बाहिरबाट आउने व्यक्तिहरूमार्फत सङ्क्रमणको जोखिम भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो । उहाँले पास बनाएर आएका व्यक्तिहरूले पछिल्लो तीन दिनदेखिको पीसीआर रिपाेर्ट पेश गर्नुपर्ने निर्णय गरिएको बताउनुभयाे ।