गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३० गते । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् । काठमाडाैँ उपत्यकामा पछिल्लो चार दिनमा सबैभन्दा कम सङ्क्रमितको पुष्टि भएको हो । यसअघि बिहिबार १२७, बुधबार १३८ र मङ्गलबार १३४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको काठमाडाैँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा छ जना गरी कुल ११९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडाैँका २३, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ललितपुरका २६, काठमाडाैँका चार र भक्तपुरका एकमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । बी एन बी अस्पतालमा काठमाडाैँका एक, शुक्रराज ट्रपिकल अस्पतालमा काठमाडाैँका १६ र ललितपुरका तीन, धुलिखेल अस्पतालमा काठमाडाैँका तीन, नेपाल प्रहरी अस्पतालमा काठमाडाैँका १३, स्टार अस्पताल–सानेपामा काठमाडाैँका छ र भक्तपुरका दुई तथा हयाम्स अस्पतालमा काठमाडाैँका दश जना सङ्क्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार नेपाल कोरिया मैत्री अस्पताल–भक्तपुरमा काठमाडाैँका सात जनामा सङ्क्रमण्को पुष्टि भएको छ ।