नवीन शिशिर विक
बागलुङ, साउन ३२ गते । जिल्लाव्यापी रुपमा लागु हुने गरी बागलुङमा आंशिक बन्दाबन्दी सुरु भएको छ ।
जिल्लामा शनिबार दुई जना जनप्रतिनिधि, एक जना खाजा पसल सञ्चालक र एक जना क्वारेनटाइनमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएपछि शनिबार राति १२ बजेदेखि लागु हुने गरी आंशिक बन्दाबन्दी घोषणा गरिएको हो ।
कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिए सक्ने सम्भावनालाई लक्षित गरी कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले मानिसहरूका चहलपहल र भिडभाड कम गर्न दुई पाङग्रे सवारीसमेत गरी सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागु गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
जनप्रतिनिधि तथा खाजा पसल सञ्चालक जनसम्पर्कमा रहेको आशङ्कामा कन्ट्याक ट्रेसिङ्गको लागि जिल्लाव्यापी रुपमा बन्दाबन्दीको पहिलो चरण कार्यान्वयन थालेको प्रजिअ न्यौपानेले बताउनुभयो ।
शनिबार जिल्ला समन्वय समितिका प्रमुख, बडिगाड गाउँपालिका–६ का वडाध्यक्ष, धौलागिरी अस्पताल अगाडिको खाजा पसल सञ्चालक र गल्कोट नगरपालिका–१ का एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
बडिगाड–६ का वडाध्यक्ष माैसम क्षेत्री सेवा प्रवाह, कोभिड व्यवस्थापनको लागि सञ्चालन भएका भेला, बैठक तथा भेटघाटमा सहभागी भएको हुँदा गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ भने जिल्लामा कडाइ गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खुल्ला स्थानमा मानिसहरूको भेला, भिडभाड तथा जुलुस, मठमन्दिरमा दैनिक पुजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि सञ्चालन, मेला महोत्सव तथा शैक्षिक संस्था सञ्चालनमा रोक लगाइएको छ ।
बागलुङमा चैत्र यता पाँच हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हाल जिल्लाका विभिन्न आईसोलेसनमा २१ जना सङ्क्रमित उपचाररत रहेका छन् भने २४५ जना कोरोना परास्त गरी घर फर्केका छन् ।