देवराम प्रसाद यादव
सप्तरी साउन ३२ गते । सप्तरी मा कोरोना भाइरसको सङ्क्रमण रोक्न भारतसँग सीमा जोडिएका कुनौली नाकालगायत बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त नाकाबाट पनि आवतजावत सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।
भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहर गर्नेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी भएसँगै नाका बन्द गरिनुका साथै थप सतर्कता र निगरानी कडा पारिएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईनलगायत नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघि मात्र ती सबै नाका बन्द गरी कुनौली नाकाबाट मात्र आवश्यक जाँचपश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो ।
तर, कुनौली नाकाबाट समेत ठूलो सङ्ख्यामा घर फर्किने क्रम बढेसँगै कोरोनाको सङ्क्रमण बढ्दै गएपछि उक्त नाका पनि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
छिमेकी मुलुक भारत तथा विशेष गरी सीमावर्ती क्षेत्रमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले नेपाल सरकारको (मन्त्रिपरिषद्) साउन २६ गतेको निर्णयअनुसार नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रसाद घिमिरेले बताउनुभयो ।
सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यले आवतजावतमा मात्र रोकथाम नगरी अवैध रुपमा हुने चोरी निकासी र तस्करी नियन्त्रणमा समेत कडाइ गरिएको र दिनरात प्रहरीले सीमा क्षेत्रमा निगरानी गरिरहेको बताउनुभयो ।
भारतसँग जोडिएको सप्तरीको ७२ किलोमिटर खुल्ला सीमाबाट लुकीछिपी प्रवेशसमेत नहोस् भन्ने उद्देश्यले ५५ वटा पोष्ट स्थापना गरी सशस्त्र प्रहरीले नाका क्षेत्रमा निगरानी गरिरहेको उहाँको भनाइ छ ।
जिल्ला प्रवेश गर्ने भारतीय सीमासँग जोडिएका सबै नाका बन्द गरिएपछि भारतबाट घर फर्किनेहरू कोही सीमा क्षेत्रमा अलपत्र परेका छन् भने कोही प्रदेश १ को विराटनगर तथा कोही प्रदेश २ को सिरहा माडर नाकाबाट प्रवेश गरिरहेका छन् । भारतबाट घर फर्किनेहरूका लागि उक्त दुवै नाका सरकारले प्रयोग गर्न भने छुट दिएको छ ।