logo
२०८१ चैत्र २ आईतवार



कोरोना सङ्क्रमणबाट बाँकेमा थप एकको मृत्यु

प्रदेश |


कोरोना सङ्क्रमणबाट बाँकेमा थप एकको मृत्यु


सिराज खान
नेपालगञ्ज, भदौ २ गते । कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुषको सोमबार राति ११ः४० बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयाे ।

स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मृतकको दुवैतर्फको फोक्सोमा निमोनिया भएको थियो । मृतकलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए ।

कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उहाँको उपचार शुरु गर्नुका साथै पीसीआर जाँचका लागि स्वाब लिइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । सोमबार दिउँसो ३ बजे उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले मृतकलाई कोराना भएको पुष्टि भएपछि उहाँको अवस्था चिन्ताजनक हुँदै गएकोले प्लाज्माका लागि सङ्क्रमणबाट निको भएकालाई रगत दिन आह्वान गरिएको बताउनुभयो । तर कसैले पनि ए पोजेटिभ रगत नदिएपछि उहाँको उपचार अगाडि बढ्न नसकेको र अवस्था बिग्रँदै गएपछि उहाँको मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
प्रदेशसभाका सभासद तथा नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले मृतकको अन्त्येष्टि ईस्लामिक संस्कृति र परम्पराअनुसार नेपालगञ्ज-४ स्थित कब्रुस्तानमा गरिने तयारी भइरहेको बताउनुभयो ।
सभासद अन्सारीले जिल्ला प्रशासन र नेपाली सेनाको सहयोगमा मुस्लिम परम्पराअनुसार स्थानीय कब्रुस्तानमा मङ्गलबार दिउँसो अन्तिम संस्कार गर्ने तयारी शुरु गरिएको बताउनुभयो ।

यसअघि नरैनापुर गाउँपालिका–५, मटेहियाका २५ वर्षीय युवा, बैजनाथ गाउँपालिकाकी ६५ वर्षीया महिला र कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?