नवीन शिशिर विक
बागलुङ, भदौ २ गते । बागलुङका ५० प्रतिशत कोरोना सङ्क्रमितले दुई हप्तामा कोरोना जितेर घर फर्केका छन् । सङ्क्रमण पुष्टि भएपछि उपचारको लागि आइसोलेसन भर्ना भएका सङ्क्रमितमध्ये दुई हप्तामा निको हुनेको दर ५७ दशमलव ७ प्रतिशत रहेको छ ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार जिल्लामा २४६ ले कोरोना जितेर घर फर्कका छन् । निको हुनेमध्ये १४० जनाले आठदेखि १४ दिनसम्मको उपचारपछि घर फर्केका थिए । सबैभन्दा कम समय एक हप्तामा निको हुने दर ७ प्रतिशत रहँदा सबैभन्दा बढी २९ देखि ३५ दिनका सञ्चाे हुने दर २ प्रतिशत रहेको छ ।
सङ्क्रमण पुष्टि भएको दिनदेखि १५–२१ दिनमा २७, २२–२८ दिनमा ६ प्रतिशत, २९–३५ दिनमा निको हुने ३ प्रतिशत र ३६ दिन बढी समय लाग्नेको सङ्ख्या एक प्रतिशत रहेको छ । गत चैत्र १५ गते पहिलो पटक सङ्क्रमित भेटिएको बागलुङमा आइतबार सङ्क्रमण पुष्टि भएकी एक महिलाबाहेक अन्य कुनै पनि सङ्क्रमितमा कोरोनाको लक्षण देखिएको छैन ।
लक्षणविहीन युवा सङ्क्रमितको सङ्ख्या बढी भएकाले पनि छोटो समयमा कोरोना निको हुने दर बढी भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौको भनाइ छ ।
जिल्लाका उपचारपश्चात निको हुने दर ९२ प्रतिशत हुँदा मृत्युदर ० दशमलव ४ प्रतिशत रहेको छ । कार्यालय प्रमुख गुरौका अनुसार सबैभन्दा बढी २१–३० वर्ष उमेर समूहका १३३, ११–२० भित्रका ३९, ३१–४० वर्षका ६१, ४१–५० भित्रका २०, ५१ देखी ६० का ९ र ६१ वर्षमाथिका पाँच जना सङ्क्रमित भएका छन् ।
बागलुङमा हालसम्म दुई हजार १५१ आरडिटीसहित पाँच हजार ४३३ जनाको स्वास्थ्य परीक्षण गर्दा २६८ जना सङ्क्रमित फेला परेका छन् । हाल २१ जना सङ्क्रमित धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत रहेका छन् । एक जना महिला सङ्क्रमितबाहेक अन्य सङ्क्रमित लक्षणविहीन रहेको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले जानकारी दिनुभयो ।
जनस्वास्थ्यका सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्नुका साथै दिन दैनिकीलाई सन्तुलनमा राख्न सके सङ्क्रमणबाट जोखिम कम हुने कार्यालय प्रमुख गुरौले उल्लेख गर्नुभयो । बागलुङमा आइतबार घरमै रहेकी महिलामा कोरोना फेला परेपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको पुष्टि भएको छ ।