logo
२०८१ मंसिर १४ शुक्रवार



जोखिम भत्ताको माग गर्दै धर्ना बसेका स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना सङ्क्रमण

फिचर |
पढ्नै पर्ने |


जोखिम भत्ताको माग गर्दै धर्ना बसेका स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना सङ्क्रमण


जनार्जन खत्री

सर्लाही, भदौ २ गते । सर्लाहीको हरिपुरमा जोखिम भत्ताको माग गर्दै नगरपालिका कार्यालयमा धर्नामा बसिरहेका तीन जना स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा थ्रोट स्वाब परीक्षण गराउँदा स्वास्थ्यकर्मी, कर्मचारी, समाजसेवी, व्यापारीलगायत गरी ३१ जनाको पोजिटिभ रिपोर्ट आएको हरिपुर नगरपालिका, स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक जना स्वास्थ्य चौकीको इन्चार्जसमेत हुनुहुन्छ । सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मी अन्य स्वास्थ्यकर्मीहरूसँगै गत शुक्रबारदेखि धर्नामा बसिरहनुभएको थियो ।

सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर धर्नामा बस्ने अन्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको स्वास्थ्य शाखा संयोजक महतोले बताउनुभयो । स्वास्थ्यकर्मी बाहेकका सङ्क्रमितहरूको पनि खोजी गरी आइसोलेसनमा राख्ने काम भइरहेको छ ।

हरिपुर नगरपालिकाले गत बिहीबार जोखिममा रहेर काम गरिरहेका २४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेको थियो । त्यसमध्ये मङ्गलबार दिउँसोसम्म करिब एक सय जनाको रिपोर्ट आउँदा ३१ जनामा सङ्क्रमण पाइएको हो । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएपछि आपतकालीन बैठक बसेर थप सतर्कता अपनाउँदै निषेधाज्ञामा कडाइ गर्ने निर्णय भएको नगर प्रमुख जमिरुदिन मन्सुरले जानकारी दिनुभयो ।

यस्तै मङ्गलबार नै जिल्लाको कौडेना गाउँपालिकामा ५८ जना र विष्णु गाउँपालिकामा पाँच जना स्वास्थ्यकर्मीसहित १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न पालिकाहरूले सङ्कलन गरेर पठाएको थ्रोट स्वाबको धमाधम परीक्षण रिपोर्ट आइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?