मुना हमाल
सुर्खेत, भदौ २ गते । कर्णाली प्रदेशमा ८६ वर्षीया महिला कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । मङ्गलबार उहाँसहित चार जनालाई कोरोना सङ्क्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको छ । दैलेखको महाबु गाउँपालिकाबाट अनुहारको दायाँ भाग नचल्ने भएपछि उपचारका लागि प्रदेश अस्पताल आउनुभएको थियो ।
उहाँ उच्चरक्तचापको बिरामीसमेत हुनुहुन्थ्यो । यसै क्रममा उहाँलाई कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । प्रदेश अस्प्तालका कोरोना फोकलपर्सन डा. प्रतिप न्यौपानेले कोरोना सङ्क्रमणमुक्त भएपछि मङ्गलबार उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलालाई कोरोनाको कुनै पनि लक्ष्ण देखिएको थिएन । उहाँको प्रेसर पनि नर्मल भएको र स्वास्थ्य अवस्था समान्य रहेको डा. न्यौपानले बताउनुभयो । ८६ वर्षीयासँगै तीन जनालाई डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै कर्णाली प्रदेशमा मङ्गलबार थप छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । दैलेखका पाँच र रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कारोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८७ पुगेको छ । त्यस मध्ये एक हजार ९३२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । अब प्रदेशका सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १४९ रहेको छ ।