लीलाराज झापाली
बिर्तामोड, भदौ २ गते । झापामा एकै दिन २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार झापाको भद्रपुर तथा विराटनगर, धरानमा चेक गरिएको पीसीआर रिपाेर्टमा झापामा २० जनामा कोरोना पोजिटिभ देखिएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईंले बताउनुभयो ।
कोरोना पोजिटिभ भएकाहरूमा दुई जना प्रहरी रहनुभएको छ । जसमा १२ जना स्थानीय र आठजना भारतबाट आएकाहरूमा कोरोना पुष्टि भएको चम्लगार्इंले बताउनुभयो । कोरोना पुष्टि हुनेमा २४ वर्षदेखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।
झापामा सबैभन्दा बढी दमकमा आठ पुरुषसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने झापा गाउँपालिकामा दुई जना पुरुष, कनकाई नगरपालिकामा एक जना महिला, बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बुद्धशान्तिमा एक जना पुरुष, भद्रपुर नगरपालिकामा एक जना पुरुष, मेचीनगरमा दुई जना पुरुष, अर्जुनधारामा एक जना पुरुष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना पुरुष र सशस्त्र प्रहरी बलमा कार्यरत एक जना पुरुषमा कोरोना पुष्टि भएकोे छ । यो सँगै झापामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४५६ पुगेको छ । झापामा रहेका सबै आइसाेलेसन र होम आइसाेलेसनसमेत भरिएकाले सबै बिरामीलाई आ–आफ्ना पालिकाहरूले आफैँ उपचारमा राखिरहेको समेत फोकल पर्सन चम्लगाईंले बताउनुभयो । इमरजेन्सीमा परेका बिरामीहरूलाई मात्रै हाल जिल्लाले आइसाेलेसन उपलब्ध गराउँदै आएको उर्हाँले बताउनुभयो ।