नवीन शिशिर विक
बागलुङ, भदौ ३ गते । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया एक महिलामा चैत्त २० गते नेपालको छैटाैँ सङ्क्रमितको रुपमा कोरोना सङ्क्रमणको पुष्टि भयो । त्यसअघि चैत्र १५ गते बागलुङकै १९ वर्षीया युवतीमा पनि सङ्क्रमण देखिएको थियो ।
दुवै जना चैत्र ४ गते बेल्जियमबाट नेपाल फर्केका थिए । दुवै सङ्क्रमितलाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरियो । कोरोना सङ्क्रमितकै लागि कुनै औषधि प्रामाणिक छैन । खोप विकासको चरणमा छ । यूरोप, अमेरिकालगायत अन्य राष्ट्रमा चलाइने औषधि कोरोनामा उपयोगी मात्रै हुने भनिएको छ । तर पनि उनीहरू दुवै कोरोना जितेर घर फर्के ।
उच्च रक्तचाप र दमको नियमित औषधि सेवन गर्ने ६५ वर्षीया महिलामा थप जोखिम हुने त्रास थियो । दीर्घरोग र ढल्किँदो उमेरको कारण कोरोनाले जटिलता थप्ने डर भए पनि उहाँले १९ वर्षीया युवतीले भन्दा छिटो दुई हप्तामै अर्थात वैशाख ६ गते कोरोना जित्नुभयो । उहाँले कोरोना जितेको सन्देश प्रभाव भए पछि सङ्क्रमितहरूलाई पनि आत्मबल थप भयो रोगसँग सजिलै लड्न सकिने रहेछ ।
घर फर्कने क्रममा उहाँको सन्देश थियो, ‘कोरोना जित्ने औषधि भनेकै उच्च आत्मबल र अधिक तातो पानीको प्रयोग रहेछ ।’ चैत्र १५ गते यता बागलुङका २७१ जना कोरोना सङ्क्रमित पहिचान भए । तीमध्ये २४६ जना निको भएर घर फर्केका छन् । हाल २४ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् । कोरोना पुष्टि भएपछि बिरामीलाई उच्च सतर्कताका साथ अस्पताल भर्ना गरिन्छ तर उनीहरूलाई के औषधि चलाउने अझै तय भइसकेको छैन ।
कोरोना निको भएका अधिकांशले औषधिको रुपमा तातो पानी, सिल्टिमुर, लसुन, बेसार पानीको प्रयोग गरेको बताउँछन् । भारत हुँदै नेपाल फर्किँदा सङ्क्रमित भएका बागलुङ नगरपालिकाका देवाकान्त शर्माले भन्नुभयो, ‘तातो पानी र औषधीय गुण भएका जडीबुटी खाएरै निको भयो ।’
आइसोलेसनमा रहँदा बेसार पानी, लसुन पानी र अन्य घरेलु जडीबुटीको प्रयोग गरेको बागलुङ नगरपालिकाका सागर पाठकले बताउनुभयो । अस्पताल भर्नापछि डाक्टरले कुनै औषधि दिएनन्’ उहाँले भन्नुभयो, ‘तातो पानीको अधिक प्रयोग, लसुन र बेसारको धुलो धेरै खाएँ ।
धौलागिरी अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलका अनुसार कोरोनाका बिरामीलाई लक्षण अनुसार नै उपचार गरिने बताउनुभयो । ‘कोरोनाको छुट्टै खोप र औषधि छैन’ उहाँले भन्नुभयो, बिरामीमा जे जस्तो लक्षण देखिन्छ त्यसैको उपचार हुन्छ । रुखा लाग्नेलाई रुघा र खोकी लाग्नेलाई खोकीको उपचार गरिने उहाँले बताउनुभयो ।
अस्पतालमा बानपा–३ की ३० वर्षीया एक महिलाबाहेक अन्य कुनै पनि बिरामी लक्षणसहित अस्पताल भर्ना भएका छैनन् । भर्नापछि सीमित बिरामीमा अन्य प्रकृतिका रोग देखिएको र त्यही समस्याको उपचार गरेको प्रमुख डाक्टर पोख्रेलको भनाइ छ ।
लामो समय आइसोलेसनमा बस्दा बिरामीलाई मानसिक रुपमा समस्या आउन सक्ने जटिलतालाई ध्यानमा राखेर टेलिफोनमार्फत मनोसामाजिक परामर्शलाई पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।