बेलिना थापा
लमजुङ, भदौ ३ गते । लमजुङमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षण गरिएका प्रहरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । सङ्क्रमित हुनेमा बाग्लुङको बडिगाड गाउँपालिकाका २२ वर्षीय पुरुष, धादिङको गङ्गाजमुना गाउँपालिकाका ३२ वर्षीय पुरुष र नवलपरासी कावासोती नगरपालिकाका ३२ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमित हुनेमा दुई जना सिपाही र एक जना हवल्दार छन् ।
उनीहरूको साउन ३२ गते स्वाब सङ्कलन गरी गण्डकी प्रदेश प्रयोगशालामा पठाइएको थियो । कार्यालयका अनुसार ४६ जना प्रहरी र नौ थुनुवा गरी ५५ जनाको स्वाब सङ्कलन गरी पठाइएकोमा आठ जना प्रहरीको रिपोर्ट आउन बाँकी छ । तीन जना थुनवाको रिपोर्ट आउन बाँकी रहेको छ ।
केही दिनअघि तनहुँ घर भएका एक प्रहरी नायब निरीक्षक बिदामा घर जाँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब सङ्कलन गरिएको थियो । उनीहरूलाई बेंसीसहर नगरपालिका-७ सहजीस्थित सहरी विकास कार्यालयको भवनमा रहेको आइसाेलेसनमा लगिएको छ ।
प्रहरीमै कोरोना सङ्क्रमण देखिएपछि नागरिक त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार प्रहरीमा कोरोना देखिएपछि कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । कार्यालय सिल नगरिए पनि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब सङ्कलन गरी पठाइएकालाई क्वारेन्टाइनमा राखिएको छ । अन्य प्रहरी कार्यालय आडैको फूलबारी मञ्चमा निर्माण गरिएको अस्थायी टहरामा राखिएको छ । सेवाग्राहीलाई गेटबाटै सेवा दिन थालिएको प्रनाउ थापाले बताउनुभयो ।
लमजुङमा हालसम्म ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महिला नौ र पुरुष १०७ जना छन् । महिला नौ र १०२ जना पुरुष गरी १११ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । हाल आइसाेलेसनमा पाँच जना पुरुष रहेका छन् ।